काठमाण्डौ । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडको हकप्रदमा आवेदन दिने आज माघ १२ गते अन्तिम दिन रहेको छ। 

बैंकले गत पुस ७ गतेबाट सतप्रतिशत हकप्रद सेयरमा आवेदन खुला गरेको थियो। यो हकप्रदमा आज बैंकिङ समयसम्म आवेदन दिन सकिने धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ। 

बैंकले १ः१ अनुपातमा हकप्रद निष्कासन गरेको छ। जसअनुसार बैंकले १०० अंकित दरका कुल १३ लाख १२ हजार ३३८ कित्ता हकप्रद जारी गरेको छ। 

यो हकप्रदमा नेपाल धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त सि–आस्बामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखाहरुबाट आवेदन दिन सकिनेछ। सीडीएससीको मेरो सेयरबाट आवेदन दिन मिल्छ। 

हकप्रद सेयर निष्कासन प्रयोजनार्थ गत मंसिर २४ गते एक दिनका लागि बुक क्लोज गरिएको थियो। यसको अर्थ यो बैंकको हकप्रद भर्न योग्य हुन मंसिर २३ गतेसम्म कायम सेयरधनीले मात्रै आवेदन दिन पाउनेछन्। 

नारायणी डेभलपमेन्ट बैंकलाई नेपाल धितोपत्र बोर्डले गत मंसिर ३ गते हकप्रद निष्कासनको अनुमति दिएको थियो।