– भक्तराज रसाइली 

काठमाण्डौ। सानिमा बैंकको सहायक कम्पनी सानिमा क्यापिटलले ‘मेरो सेयर’ पोर्टलको पासवर्ड रिसेटबापत गैरकानुनी रुपमा शुल्क उठाउँदै आएको छ। 

सीडीएससीको मेरो सेयर पोर्टलमा पासवर्ड बिर्सेमा पासवर्ड रिसेटका लागि सानिमा क्यापिटलले प्रयोगकताहरुबाट गैरकानुनी रुपमा शुल्क उठाउँदै आएको हो। क्यापिटलले मेरो सेयरको पासवर्ड रिसेट गरेबापत प्रयोगकर्ताबाट १५ रुपैयाँ शुल्क लिँदै आएको छ।

लगानीकर्ता पदम टन्डनले मेरो सेयर पासवर्ड रिसेट गर्दा सानिमा बैंकमार्फत  १५ रुपैयाँको भौचर भरिसकेपछि मात्रै क्यापिटलले पासवर्ड रिसेट गरिदिएको गुनासो पोखे। भौचरको एक कपी भने आफूले पनि नपाएको र सूचनाको हक हनन भएका दाबी उनले गरे।
सानिमा क्यापिटलले टन्डनजस्ता हजारौँ लगानीकर्ताबाट गैरकानुनी रुपमा शुल्क उठाइरहेको छ।

सानिमा क्यापिटलका हेड इन्भेस्टमेन्ट बैंकिङ मन्दीप लुइँटेल भन्छन्, ‘उजुरीकर्ता तपाइँको मिडियामा किन गएको ? त्यो उजुरीकर्ता धितोपत्र बोर्ड नै गए पनि कुनै फरक पर्ने छैन। हामीलाई धितोपत्र बोर्डले समेत केही गर्न सकेको छैन। प्रशासनिक शुल्कबापत भन्दै हामीले पासवर्ड रिसेटको शुल्क जरिवानाका रुपमा लिएका हौँ।’

नेपाल धितोपत्र बोर्डका सहप्रवक्ता रुपेश केसीले पासवर्ड रिसेटको शुल्कका विषयमा सीडीएससीले नै निर्णय गर्नुपर्ने बताउँछन्। आमलगानीकर्ताको हकहितका लागि स्थापित धितोपत्र बोर्डको समेत मेरो सेयर प्रयोगकर्ताबाट गैरकानुनी रुपमा शुल्क उठाइरहेकोमा समर्थन गरेकोजस्तो देखिएको छ।

विनियमावलीमा समेत मेरो सेयरको पासवर्ड रिसेटका नाममा शुल्क उठाउन नपाइने सीडीएससीकै एक उच्च अधिकारी बताउँछन्। ‘एकाध क्यापिटलले मेरो सेयरको पासवर्ड रिसेट गर्दा शुल्क लिइरहेको पाइएको छ तर विनियमावलीमा समेत शुल्क लिन पाइने व्यवस्था कहीँकतै उल्लेख नभएकाले यो सरासर गैरकानुनी हो’, ती अधिकारीले बिजशालासँग भने, ‘यस विषयमा हामीले धितोपत्र बोर्डसँग पनि कुरा राख्दा त्यति चासो दिइएन।’ 

मेरो सेयरको पासवर्ड रिसेट निःशुल्क भए पनि एकाध क्यापिटलबाट गैरकानुनी धन्दा भइरहेकोप्रति बोर्डले मौनता साँध्दै लगानीकर्ताको हितमा काम गर्न नसकेको ती अधिकारीले बताए। ‘अब सीडीएससीले छिटै मेरो सेयरको पासवर्ड रिसेट प्रयोगकर्ता आफैँले गर्न सक्ने व्यवस्था सुरु भएपछि यो समस्या निराकरण हुन्छ’, उनले भने।

ब्रोकर कम्पनी र अन्य क्यापिटलले पनि मेरो सेयरको पासवर्ड रिसेट गर्न कुनै शुल्क लिएका छैनन्। सानिमा क्यापिटलले भने नियामकलाई समेत चुनौती दिँदै गैरकानुनी ढंगले हजारौँ मेरो सेयर प्रयोगकर्ताबाट शुल्क उठाइरहेको छ।