काठमाण्डौ । वाणिज्य बैंकका सीइओहरुको छाता संगठन नेपाल बैंकर्स एशोसिएसन(एनबीए)ले नेपाल राष्ट्रबैंकको सर्कुलरपछि अब सबै बैंकले निक्षेपको ब्याजदर १० प्रतिशतभन्दा तलै राख्नुपर्ने गरी समझदारी बनाउने प्रयास थालेको छ । 

एनबीएका उपाध्यक्ष तथा कृषि विकास बैंकका सीइओ अनिल उपाध्यायले राष्ट्रबैंकको निर्देशनपछि एउटा सकारात्मक वातावरण बनेको र सबै बैंकका सीइओहरु निक्षेपको ब्याजदरलाई १० प्रतिशतभन्दा तल(सिंगल डिजीट)मै सीमित राख्ने विषयमा सकारात्मक देखिएका बताए । 

'हामीबीच ब्याजदर सिंगल डिजीटमै राख्ने कुरामा समझदारी बन्छ ।' उनले थपे-'एकदुईवटा बैंकको सामान्य तलमाथि भयो भने ठूलो कुरा नहोला, तर अधिकांशले सिंगल डिजीटमा ब्याजदर सीमित राख्ने विषयमा सकारात्मक प्रतिक्रिया दिनुभएको छ ।' 

आफूहरुले कात्तिकका लागि ब्याजदर प्रकाशित गर्नुअघि पनि निक्षेपको ब्याजदर सिंगल डिजीटमै राख्ने समझदारी बनाएको भए पनि त्यसमा केही गडबड भएको र अब चाहिँ त्यस्तो नहुने विश्वास एनबीए नेतृत्वले लिएको समेत बताए । 

'राष्ट्रबैंकको निर्देशनका कारण कसलाई के असर गर्छ पछि विश्लेषण गरौंला, अहिलेलाई चाहिँ कम्तीमा नकारात्मक अवस्था बन्न दिनुहुन्न ।' उनले थपे-'अब सबैले ब्याजदरलाई नियन्त्रण गर्नुपर्छ । घाटाकै कुरा गर्ने हो भने कृषि विकास बैंकलाई पनि होला, तर हामीले अब संस्थागत रुपमा सोच्नुपर्छ ।' 

एनबीएको चाहनाअनुसारको समझदारी बन्दै गएका कारण यसले कोही कसैलाई धेरै नै मर्का परे, त्यो विषयमा पनि रिभ्यू गर्न सकिने उनले प्रष्ट पारे । 

'हामी सबै बैंकहरु राष्ट्रबैंकको निर्देशनपछि नयाँ ब्याजदर आ आफ्नो वेबसाइटमा अपडेट गर्ने तयारीमा जुटेका छौं ।' उनले भने-'सबैले १० प्रतिशतभित्रै बसौं भन्नुभएको छ, राम्रै अवस्था बन्ला ।'