काठमाण्डौ । विकास बैंकहरुले मुद्दति निक्षेप र बचतको ब्याजदर घटाउने निर्णय गरेका छन् । 

चैत १ गतेदेखि लागू हुने गरी विकास बैंकहरुले निक्षेपको ब्याजदर घटाउने निर्णय गरेका हुन् । 

डेभलपमेन्ट बैंकर्स एशोसिएसन(डिबान)को केहीबेरअघि सम्पन्न बैठकले मुद्दति निक्षेपको ब्याजदर अधिकतम ०.२५ प्रतिशत  बिन्दुसम्म घटाउने निर्णय गरेको अध्यक्ष प्रद्युमन पोखरेलले जानकारी दिए । 

उनका अनुसार फागुनमा व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर ११.७५ प्रतिशत कायम भएको थियो । चैत १ गतेदेखि भने १ वर्ष वा सोभन्दा बढी अवधिको व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर ११.६० प्रतिशत कायम हुनेछ। 

यस्तै, एकवर्ष वा सोभन्दा कम अवधिको व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर भने घटेर ११.५० प्रतिशत कायम भएको छ । फागुनमा यस्तो निक्षेपको ब्याजदर पनि ११.७५ प्रतिशत नै थियो । 

यस्तै विकास बैंकहरुले चैतमा संस्थागत मुद्दति निक्षेपको ब्याजदर घटाएर ९.५० र रेमिट्यान्समा १२.५० प्रतिशत ब्याजदर कायम गरेका छन्। फागुनमा संस्थागतर्फ ९.७५ र रेमिट्यान्समा १२.७५ प्रतिशत ब्याजदर कायम गरेका थिए। 

यस्तै, डिबानले बचतको ब्याजदर पनि घटाएको छ । 

बचतको ब्याजदर ०.१५ प्रतिशत  बिन्दुले घटेको छ । फागुनमा बचतको न्यूनतम ब्याजदर ६.७५ प्रतिशत रहेकोमा चैतमा भने न्यूनतम ६.६० प्रतिशत कायम गरिएको छ । 

डिबानले केही महिनादेखि निरन्तर ब्याजदर घटाइरहेको छ । निक्षेपको ब्याजदर घटिरहँदा स्रोतको लागत कम हुन गई त्रैमासिक रुपमा गणना हुने आधारदर घट्ने र यसले बैशाखदेखि कायम हुने पुरानो ऋणको ब्याजदर पनि ह्वात्तै घट्ने अवस्था देखिएको छ ।