– रेखा चन्द
काठमाण्डौ । नेपाल बैंकर्स एसोसिएसन (एबीए)का पूर्वअध्यक्ष भुवन दाहालले एक सातामै वाणिज्य बैंकहरुको निक्षेप ६३ अर्ब रुपैयाँले घटेकोमा शंका व्यक्त गरेका छन्।
एबीएले आज सार्वजनिक गरेको साउन १ गतेदेखि ६ गतेसम्मको तथ्यांकअनुसार वाणिज्य बैंकहरुको निक्षेप ६३ अर्ब रुपैयाँले घटेर ४४ खर्ब ७८ अर्ब रुपैयाँमा झरेको छ। ‘यो शंकास्पद छ, यसमा राष्ट्र बैंकले अनुसन्धान गर्नुपर्छ’, एनबीएका पूर्वअध्यक्ष दाहालले भने, ‘मैले पनि राष्ट्र बैंकका अधिकारीहरुलाई अनुसन्धान गर्नुपर्यो भनेको छु।’
सामान्यता साउन लागेपछि बैंकको निक्षेप र कर्जा दुवै घट्ने उल्लेख गर्दै दाहालले अहिले कर्जा लगानी १० अर्ब रुपैयाँले मात्रै घट्दा निक्षेप भने ६३ अर्बले घटेपछि शंका लागेको बताए । ‘मलाई चाहिँ बैंकहरुले नक्कली डिपोजिट सिर्जना गरेकी कि भन्ने लागेको छ, राष्ट्र बैंकले पनि अनुसन्धान गर्छौं भनेर भनेको छ’, उनले भने ‘साउन लागेपछि निक्षेप र कर्जा घट्छ, किनकि कतिपय बैंकहरुले असारमा निक्षेप र कर्जा नघटाइदिनु भनेर ग्राहकलाई आग्रह गरेका हुन्छन्, त्यो रकम साउनमा घट्छ तर यसपालि कर्जा एमदमै कम र निक्षेप एकदमै धेरै घटेको छ।’
एनबीएका सीईओ अनिल शर्मा भने साउन ६ गतेसम्म निक्षेप ६३ अर्बले घट्नुमा खासै कुुनै कारण नरहेको बताउँछन्। अहिले बैंकहरुले कर्जा दिन नसक्दा कर्जा प्रवाह नभएको र १–२ वटा बैंकको मात्रै नभएर सबै बैंकबाट निक्षेप घटेको उनको भनाइ छ। ‘साउन लागेपछि निक्षेप र कर्जा दुुवै घटिरहेका छन्, बैंकहरुले कर्जा दिन नसक्ने स्थितिमा रहेकोले सीमित भएको छ’, उनले भने, ‘निक्षेप घट्नुुमा चाहिँ यही कारण हो भनेर ठम्याउने अवस्था छैन।’
राष्ट्र बैंकका सहप्रवक्ता नारायणप्रसाद पोखरेलका अनुुसार साउन १ गतेदेखि साउन ८ गतेसम्म बैंक तथा वित्तीय संस्थाको निक्षेप ३९ अर्ब ९ करोड रुपैयाँले घटेको छ । ‘जसमा वाणिज्य बैंकबाट ३२ अर्ब ८३ करोड रुपैयाँ, विकास बैंकबाट ५ अर्ब २० करोड रुपैयाँ र फाइनान्स कम्पनीबाट १ अर्ब ६ करोड रुपैयाँ निक्षेप घटेको छ’, उनले भने।
स्थायी तरलता सुविधा (एसएलएफ)को रकम परिपक्व भएपछि बैंकहरुले केन्द्रीय बैंकलाई फिर्ता गरेकाले निक्षेप ह्वात्तै घटेको सहप्रवक्ता पोखरेलको भनाइ छ । ‘बैंक तथा वित्तीय संस्थाले साउन ४ गते ३४ अर्ब २ करोड रुपैयाँ र साउन ५ गते ६ अर्ब १८ करोड रुपैयाँ एसएलएफको रकम फिर्ता गरेका छन्’, उनले भने, ‘त्यसैले निक्षेप घटेकोमा चकित पर्नुपर्ने कारण नै छैन।’
एबीएको तथ्यांकअनुसार साउन ६ गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ६३ अर्बले घटेर ४४ खर्ब ७८ अर्ब रुपैयाँमा झरेको छ। गत असार ३२ गतेसम्म वाणिज्य बैंकहरुको निक्षेप ४५ खर्ब ४१ अर्ब रुपैयाँ थियो।
यसैगरी साउनको पहिलो साता वाणिज्य बैंकहरुको कर्जा लगानी पनि १० अर्ब रुपैयाँले घटेको छ। साउन ६ गतेसम्म वाणिज्य बैंकहरुको कुल कर्जा लगानी घटेर ४१ खर्ब ६५ अर्ब रुपैयाँमा झरेको छ। गत असार ३२ गतेसम्म कुल कर्जा लगानी ४१ खर्ब ७५ अर्ब रुपैयाँ रहेको थियो।
साउन ६ गतेसम्म वाणिज्य बैंकहरुको औसत सीडी रेसियो ८७.७५ प्रतिशत रहेको एनबीए जनाएको छ।
4 minutes ago
11 minutes ago
30 minutes ago
2 hours ago
2 hours ago
2 hours ago
3 hours ago
4 hours ago
4 hours ago
5 hours ago