काठमाण्डौ । निक्षेप तथा कर्जा सुरक्षण कोष रसनराइज बैंकबीच आज भदौ ५ गते लघुवित्त तथा विपन्न वर्ग क्षेत्र कर्जा सुरक्षण गर्ने सम्झौतापत्रमा हस्ताक्षर कार्यक्रम सम्पन्न भएको छ। 

सम्झौतापत्रमा कोषको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरे र सनराइज बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले हस्ताक्षर गरेका छन्। कार्यक्रममा कोषका नायब प्रमुख कार्यकारी अधिकृत तथा विभागीय प्रमुख र सनराइज बैंकका विभागीय प्रमुखहरुको उपस्थिति थियो।

यो सम्झौतासँगै सनराइज बैंकले लघुवित्त तथा विपन्न वर्ग कर्जाअन्तर्गत बिनाधितो सामूहिक जमानीमा लगानी गर्ने प्रतिव्यक्ति रु. १० लाखसम्म, शैक्षिक प्रमाणपत्र धितो जमानीमा लगानी गर्ने प्रतिव्यक्ति रु. ७ लाखसम्म, धितो जमानीमा लगानी गर्ने प्रतिव्यक्ति रु. २० लाखसम्म, वैदेशिक रोजगारबाट सीपमूलक तालिम लिई फर्केका युवा तथा दलित समुदायका व्यक्तिलाई सामूहिक जमानी वा परियोजना धितोअन्तर्गत लगानी गर्ने प्रतिव्यक्ति रु. १० लाखसम्म र कोषको पूर्वसहमति लिई महिलाद्वारा सञ्चालित लघु उद्यम परियोजनाअन्तर्गत परियोजना धितो राखी वा व्यक्तिगत वा सामूहिक जमानीमा लगानी गर्ने रु. १५ लाखसम्मको कर्जा कोषले सुरक्षण गर्नेछ।