काठमाण्डौ । निक्षेप तथा कर्जा सुरक्षण कोष र एनआईसी एशिया बैंकबीच आज लघुवित्त तथा विपन्नवर्ग कर्जा सुरक्षण गर्ने सम्झौता भएको छ। 

सम्झौतापत्रमा कोषका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत उषा पौडेल र एनआईसी एशिया बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राठीले हस्ताक्षर गरेका छन्। कार्यक्रममा कोषका विभागीय प्रमुखहरु र एनआईसी एशिया बैंकका अधिकारीहरुको उपस्थिति थियो।

सम्झौतापत्रमा हस्ताक्षर भएसँगै एनआईसी एशिया बैंकले लघु वित्त तथा विपन्नवर्ग कर्जाअन्तर्गत बिनाधितो सामूहिक जमानीमा लगानी गर्ने प्रतिव्यक्ति रु. १० लाखसम्म, शैक्षिक प्रमाणपत्र धितो जमानीमा लगानी गर्ने प्रतिव्यक्ति रु. ७ लाखसम्म धितो जमानीमा लगानी गर्ने प्रतिव्यक्ति रु. २०स लाखसम्म, वैदेशिक रोजगारबाट सीपमूलक तालिम लिई फर्केका युवा तथा दलित समुदायका व्यक्तिलाई सामूहिक जमानी वा परियोजना धितोअन्तर्गत लगानी गर्ने प्रतिव्यक्ति रु. १० लाखसम्म र कोषको पूर्वसहमति लिई महिलाद्वारा सञ्चालित लघु उद्यम परियोजनाअन्तर्गत परियोजना धितो राखी वा व्यक्तिगत वा सामूहिक जमानीमा लगानी गर्ने रु. १५ लाखसम्मको कर्जा कोषले सुरक्षण गर्नेछ।

यस प्रकार सुरक्षण हुने कर्जाको सुरक्षण शुल्क वार्षिक ०.८ प्रतिशत रहेकोमा ५० प्रतिशत नेपाल सरकारले अनुदानबापत व्यहोर्ने र बाँकी ५० प्रतिशत एनआईसी एशिया बैंकले कोषमा बुझाउनेछ।

कोषमा सुरक्षित कर्जा लिने ऋणीको मृत्यु भएमा वा प्राकृतिक प्रकोपबाट परियोजना नष्ट भएमा वा अन्य विभिन्न कारणबाट कर्जा असूली हुन नसकेमा बैंकले दाबी गर्न सक्ने र उक्त दाबीमा कोषले ७५ प्रतिशत भुक्तानी गर्नेछ।