काठमाण्डौ । निक्षेप संकलन तथा व्यवसाय विस्तार गर्ने उद्देश्यले कुनै पनि बैंक तथा वित्तीय संस्थाले ग्राहकलाई उपहार दिन नपाउने भएका छन् । 

पछिल्लो समय बैंकिङ प्रणालीमा तरलता असहज हुँदा निक्षेप उठाउने नाममा बैंक तथा वित्तीय संस्थाहरुले वित्तीय ग्राहकहरुलाई विभिन्न खालका उपहारहरु अफर गर्ने गरेका थिए । अब भने यस्तो काम गर्न नीतिगत रुपमै बन्देज लागेको हो । 

यस्तै, निक्षेप संकलन वा व्यवसाय विस्तार गर्ने उद्देश्यले वित्तीय ग्राहकलाई उपहार, चिठ्ठा जस्ता कार्यक्रम समेत संचालनमा रोक लगाइएको छ छ। ‘बैंक तथा वित्तीय संस्थाहरुले निक्षेप संकलन तथा व्यवसाय विस्तार गर्ने उद्देश्यले वित्तीय ग्राहकलाई कुनै पनि किसिमको उपहार/चिठ्ठा/प्रतियोगिता/पुरस्कार लगायतका कार्यक्रम सञ्चालन गर्न पाइने छैन ।’ राष्ट्रबैंकले संसोधन गरी आज सार्वजनिक गरेको एकीकृत निर्देशनमा भनिएको छ । 

यसैगरी, बैंक तथा वित्तीय संस्थाहरुले ऋणपत्र जारी गर्दा नै पुँजी कोषको अङ्गको रुपमा रहने वा स्रोत परिचालनमा गणना हुने व्यहोरा स्पष्ट रुपमा खुलाउनु पर्ने व्यवस्था समेत गरिएको छ । ‘यसअघि जारी गरिएका वा यस बैंकबाट स्वीकृति प्राप्त गरी जारी हुने प्रक्रियामा रहेका ऋणपत्रलाई सोही बमोजिम छुट्याउनु पर्नेछ । एकपटक ऋणपत्रको वर्गीकरण गरेपछि पुनःपरिवर्तन गर्न पाइने छैन ।’ निर्देशनमा भनिएको छ । 

यस्तै, बैंकहरुले “घ” वर्गका लघुवित्त वित्तीय संस्थाद्वारा जारी ऋणपत्रमा गरेको लगानी रकमलाई विपन्न वर्ग कर्जामा गणना गर्न सकिने व्यवस्था समेत भएको छ ।