काठमाण्डौ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेले निक्षेप संकलन तथा कर्जा विस्तार दुवैमा उच्च वृद्धि गरेको छ।

गत फागुन महिनामा नेपालका २७ वटा वाणिज्य बैंकहरुमध्ये निक्षेप संकलन तथा कर्जा प्रवाह वृद्घिको आधारमा नेपाल बैंक प्रथम स्थानमा रहेको देखिएको हो। गत फागुन महिनामा नेपाल बैंकको निक्षेप २१.६७ प्रतिशतले वृद्धि भएको देखिन्छ भने कर्जा विस्तार ३०.३५ प्रतिशतले वृद्धि भएको देखिन्छ। 

वाणिज्य बैंकहरुमध्ये १७ वटा बैंकहरुको निक्षेप वृद्धि भएको छ भने १० वटा वाणिज्य बैंकहरुको निक्षेपमा गिरावट भएको देखिन्छ। वाणिज्य बैंकहरुको औसत निक्षेप वृद्धिदर ५ प्रतिशत रहेको छ। 

त्यसैगरी २७ वटै बाणिज्य बैंकहरुको कर्जा विस्तारमा वृद्घि भएको छ। औसतमा वाणिज्य बैंकहरुको कर्जा विस्तारमा १६ प्रतिशतको वृद्धि भएको देखिन्छ। अहिले वाणिज्य बैंकहरुसँग कुल निक्षेप ४३ खर्ब ३३ अर्ब रुपैयाँ पुगेको छ भने कुल क्रृण ४१ खर्ब ७२ अर्ब रुपैयाँ पुगेको छ। 

फागुन महिनामा मात्रै वाणिज्य बैंकहरुको निक्षेप २२ अर्ब रुपैयाँले बढेको छ भने कर्जा प्रबाह १७ अर्ब रुपैयाँले विस्तार भएको छ। 

नेपाल बैंकर्स संघले उपलब्ध गराएको तथ्यांकअनुसार यस अवधिमा १९ वटा बाणिज्य बैंकहरुको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) नेपाल राष्ट्र बैंकले तोकेको सीमा ९० प्रतिशतभन्दा बढी रहेको छ भने नेपाल बैंकको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) भने ९०.०३ प्रतिशत रहेको छ। औसतमा बैंकहरुको कर्जा निक्षेप अनुपात ९०.९९ प्रतिशत रहेको छ।

नेपालभर २१३ शाखा, १४७ एटीएम मेसिनका साथै ४७ वटा एक्टेन्सन काउन्टरमार्फत करिब २० लाख ग्राहकलाई वित्तीय सेवा पुर्याइरहेको यो बैंक हाल ग्राहक सेवामा व्यापक सुधार गरि आधुनिक बैंकिङ प्रविधिमार्फत बैंकिङ सेवासुविधा प्रदान गर्दै प्रतिस्पर्धी  रुपमा अगाडि बढिरहेको छ। 

विगत केही वर्षयता बैंकले छिटोछरितो र गुणस्तरीय ग्राहक सेवामा मुख्य जोड दिई युवा जनशक्तिमार्फत नेपालभर बैंकिङ सेवा प्रदान गरिरहेको छ। दक्ष व्यवस्थापन, युवा कर्मचारी र आधुनिक प्रविधिको समुचित प्रयोग भएसँगै आमनेपालीमा नेपालको पहिलो बैंक नेपाल बैंकप्रतिको आकर्षण दिन प्रतिदिन बढ्दै गएको देखिन्छ। 

निक्षेपमा आकर्षक ब्याजदर प्रदान गर्नुका साथै सरकारी बैंक भएका कारण पनि नेपाल बैंकको बचत एवं मुद्दति खाताहरुमा निक्षेपकर्ताहरुको आकर्षण बढिरहेको छ।