काठमाण्डौ । असार ८ गतेदेखि काठमाण्डौ उपत्यकामा निजी सवारी साधन चल्ने भएको छ । 

उपत्यकाका तीन जिल्ला काठमाण्डौ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको केहीबेरअघि सकिएको बैठकले उपत्यकाको निषेधाज्ञा एक साता थप गर्ने निर्णय गर्दै असार ८ गतेदेखि जोरविजोर प्रणालीका आधारमा निजी सवारी साधन चल्न दिने निर्णय गरेको हो । 

भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेम भट्टराईका अनुसार जोर बारमा जोर नम्बरका र बिजोर बारमा बिजोर नम्बरका निजी सवारी साधनलाई संचालन गर्न दिइनेछ । 

यस्तै, सीडीओहरुको बैठकले उपत्यकामा सबै खालका पसल तथा व्यवसाय समेत खोल्न दिने निर्णय गरेको छ । तर, त्यस्ता पसल तथा व्यवसाय खोल्ने समय भने तोकिने छ । सो समयको बारेमा विस्तृत विवरण जिल्ला प्रशासनको आदेशमा आउने उल्लेख गरिएको छ । 

यसैगरी, बैठकले सबै सरकारी तथा सार्वजनिक कार्यालयहरु समेत पूर्ण रुपमा संचालन गर्ने निर्णय गरेको छ । त्यस्ता कार्यालय संचालन गर्दा भीड व्यवस्थापनको काम भने कार्यालय प्रमुखले गर्नुपर्नेछ । 

बैठकले तत्काल स्कूल तथा शिक्षण संस्था खोल्न नदिने निर्णय गरेको छ । होटल तथा रेष्टुराहरुबाट टेकअवे वा होम डेलिभरीको सर्भिस मात्र सुचारु गरिनेछ ।