काठमाण्डौ । डोनाल्ड ट्रम्पले औपचारिक रुपमै शुक्रबार ४५ औं अमेरिकी राष्ट्रपतिको रुपमा कार्यभार सम्हालेका छन् । अब आगामी ४ वर्षसम्म विश्वकै शक्तिशाली देश अमेरिकाको सम्पूर्ण कमाण्ड ट्रम्पको हातमा हुनेछ । ट्रम्पमाथि विश्वले नै चाखलाग्दो नजरले हेरिरहेको छ र उनीमाथि विश्वास तथा आशा  गर्नेहरुको संख्या पनि करोडौं छ । यो पद चुनौतिले भरिएको हुन्छ । तर यो पदमा आसीनले कमाउने पैसा तथा पाउने सुविधाको कुरा गर्दा यो अतुलनीय र चाखलाग्दो छ । 

४ लाख डलर तलब
अमेरिकी राष्ट्रपतिको तलब ४ लाख डलर हुन्छ । राष्ट्रपतिलाई मासिक १ लाख डलर व्यक्तिगत यात्राका लागि, १९ हजार डलर मनोरञ्जन र अन्य खर्चका लागि प्राप्त हुन्छ । तर, डोनाल्ड ट्रम्पले २०१६ नोभेम्बरमा जितपछि तलबको रुपमा मासिक केबल १ डलर मात्र लिने घोषणा गरिसकेका छन् । अन्य सुविधा भने उनले प्राप्त गर्नेछन् । 

१३२ कोठाको घरमा बस्नेछन्


राष्ट्रपतिको आधिकारिक आसियाना ह्वाइट हाउस कुनै महल जस्तो छ  । महललाई मेन्टेन गर्न मात्र वार्षिक ४ मिलियन डलर खर्च हुने गर्छ । त्यति मात्र होइन, यहाँको बगैंचा र फूलहरु मेन्टेन गर्न मात्रै  वार्षिक २५० हजार डलर खर्च गरिन्छ । ५५ हजार स्क्वायर फुटमा निर्मित यो भवन  ६ तलेको हो । यसमा १३२ वटा कोठा, ३५ बाथरुम, २८ फायरप्लेस रहेका छन् । यहाँ टेनिस कोर्ट, फेमिली मुुभी थिएटर, जगिङ ट्रेक, स्विमिङ पुल, बास्केटबल कोर्ट पनि उपलब्ध छ । यस अलावा यहाँ ५  जना फूलटाइम सेफ पनि हुनेछन् । यस्तै यो भवनमा ९६ कर्मचारीले प्रत्येक दिन काम गर्नेछन् । 

यस्तो छ ट्रम्पको आराम गर्ने घर


अमेरिकाको मेरील्याण्डमा काठले बनेको एक सुरक्षित, मजबुत र आकर्षक घर रहेको छ । जसमा स्पा, स्विमिङ पुल,  बाउलिङ एली, स्कीट सुटिङ रेञ्ज, टेनिस कोर्ट, गल्फ कोर्स तथा आइस स्केटिङ रिङ समेत बनाइएको छ । यो भवन सन् १९३५ मा बनाइएको थियो । अमेरिकाका प्रत्येक राष्ट्रपतिले यो सुविधा प्रयोग गर्न पाउँछन् । अमेरिकी राष्ट्रपति जर्ज डब्लूू बुसले प्रत्येक हप्ता यो आराम गर्ने घर(रेस्ट हाउस)को प्रयोग गर्थे । 

यो हो ट्रम्पको प्राइभेट जेट


अमेरिकी राष्ट्रपतिको हवाईयात्राको लागि बोइङ
747-200B विशेष रुपले निर्माण गरिएको छ । यो जहाजमा सुपर लक्जरी अफिस, कन्फ्रेन्स हल, बाथरुम, जिम तथा बेडरुम समेत रहेका छन् । एयरफोर्सका अनुसार यो विशाल एयरक्राफ्टलाई उडाउन प्रत्येकघण्टा २ लाख १० हजार डलर खर्च हुन्छ । राष्टङपतिको यो बोइङ जेटले १ सय मानिसलाई उडाउन सक्छ । 

यस्तो हुनेछ ट्रम्पको कार


अमेरिकाका नयाँ राष्ट्रपतिको कार झनै शानदार छ । कारमा कयौं यस्ता विशेषता छन्, जसका कारण यो जति सुरक्षित छ, उति नै महंगो पनि । यो कारको लागत मात्रै करिब १६० करोड नेपाली रुपैयाँ बराबर रहेको छ । यो कार क्याडलिक बिस्ट कार हो । यो कारमा गोली वा बम धमाकाको कुनै असर पर्दैन । इमेरजेन्सीमा कारभित्रै अक्सिजन सप्लाईको व्यवस्था गरिएको छ । यो कारमा नाइटभिजन क्यामेरा,  जिपिएस ट्रेकिङ, गन, टियर ग्यास सेल्स तथा स्याटेलाइट कम्युनिकेसन सिस्टम समेत जडान गरिएको छ । आपतकालीन अवस्थाका लागि भनेर राष्ट्रपतिको ब्लडग्रुपको २ पिन्ट रगत पनि यो कारमा हमेसा रहनेछ । कारको साइजको हिसाबले यसको अधिकतम गति प्रतिघण्टा ९६ किलोमिटर हो । यो कारको वजन करिब ८ टन छ । यो कारको ढोका न कसैले खोल्नसक्ने खालको छ न त यसमा कुनै केमिकल तथा बायोलोजिकल आक्रमणको कुनै असर नै पर्छ । 

प्रति वर्ष पेन्सन २ लाख डलर
पदबाट रिटायर भएपछि पूर्व राष्ट्रपतिलाई अमेरिकी सरकारले वार्षिक २ लाख डलर पेन्सनको रुपमा उपलब्ध गराउँछ । साथै, उनीहरुलाई निःशुल्क हेल्थ केयर र आधिकारिक यात्राहरुमा खर्चको सुविधा समेत प्राप्त हुन्छ । यसपछि ह्वाइट हाउस छाडेपछि आजीवन सुरक्षा पनि प्राप्त हुन्छ । आफ्नो मनपर्ने स्टाफ तथा एक कार्यालयका लागि रिटायर भएका राष्ट्रपतिलाई ९६ हजार डलरको वार्षिक अतिरिक्त खर्च पनि दिइन्छ ।