काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्र र आर्थिक अजेन्डा प्राथमिकतामा राख्न सरकारसँग आग्रह गरेका छन्। 

नवलपुरको गैँडाकोटमा आयोजित गण्डकी औद्योगिक व्यापार महोत्सव २०७९ को उद्घाटन समारोहलाई आइतबार सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले भने, ‘हरेक सरकारले निजी क्षेत्रसँग सहकार्य गर्ने र निजी क्षेत्रको विकास गर्ने भनेर भन्ने गरेको सुनिन्छ । तर, व्यवहारमा हामीले दलहरुले निजी क्षेत्रलाई प्राथमिकतामा राखेको महसुस गर्न सकेको छैनौँ । मुलुकका औद्योगिक विकास र आर्थिक मुद्दा लिएर सरकारका विभिन्न निकायमा पुग्दा यो निजी क्षेत्रको मात्र अजेन्डा हो भन्ने गरेको पाइन्छ।’

ढकालले निजी क्षेत्रले आयात रोकेर अर्थतन्त्रमा देखिएको समस्या समाधान हुन्न भनेको कुरा औल्याउँदै यसले राजश्व घटाउने मात्र काम गरेको बताए। ‘हामीले आयात प्रतिबन्धले अहिलेको समस्या समाधान हुन्न भनेर भनेका थियौँ । त्यसको बदलामा बोर्डरमा हुने अनौपचारिक कारोबारलाई रोकौँ भनेर सल्लाह पनि दिएका थियौँ’, उनले भने, ‘तर, त्यो कुरालाई नसुनेर सरकारले आयातमा प्रतिबन्ध लगाउने काम गर्यो । त्यसले गर्दा अहिले राजश्वमा ठूलो असर गरेको छ।’

हरेक नयाँ नीति तथा नियमहरु बनाउँदा निजी क्षेत्र तथा सरोकारवालाहरुसँग व्यापक छलफल गर्न ढकालले सरकार तथा नियामक निकायलाई सुझावसमेत दिए। 

बैंकबाट लिएको कर्जाको ब्याज तथा कर्जा तिर्न पर्दैन भन्दै केही व्यक्तिले बोल्ने गरेको उल्लेख गर्दै ढकालले यसबाट अर्थतन्त्रमा ठूलो समस्या निम्तिन सक्ने संकेत गरे। ‘केही वर्ष पहिले कुनै एउटा बैंकको बारेमा पत्रपत्रिकामा समाचार आउँदा बैंकको निक्षेप फिर्ता लिन बैंकमा सर्वसाधारणको लाइन लागेको थियो । त्यो बैंकबाट सर्वसाधारणले अस्वाभाविक रुपमा निक्षेप निकालेका थिए र नेपाल राष्ट्र बैंकले हस्तक्षेप गर्न परेको थियो । अहिले पनि बैंकबाट लिएको कर्जा तिर्न पर्दैन भन्ने आवाज सडकबाट आउन थालेको छ । यो डर लाग्दो अवस्था हो । हामीले समयमै यसलाई सम्बोधन गर्न सकेनौ भने यसले मुलुकको अर्थतन्त्रमा ठूलो संकट निम्ताउन सक्छ’, उनले भने। 

ढकालले बैंकको कर्जा तिर्दिनँ भनेर के भन्न खोजेको हो भनेर प्रश्नसमेत गरे। ‘उपस्थित राजनीतिक दलका नेतृत्व तथा उद्योगी–व्यवसायी साथीहरुलाई म सोध्न चाहन्छु, बैंकको कर्जा तिर्दिनँ भनेर के भन्न खोजेको हो’, उनले भने, ‘बैंकको निक्षेप भनेको त आमजनताको पैसा होला । यदि बैंकमा रहेको जनताको पैसा तिर्नुपर्दैन भनेर लोकप्रियताका लागि हामीले भन्यौँ भने र बैंकलाई मात्र गाली गर्ने गरी कुरा गर्यौं भने त्यसको नतिजा के होला ?’

ढकालले भीडमा तालीका लागिमात्र गैरजिम्मेवार ढंगले विषयवस्तु नउठाउन सबैलाई आग्रह गरे। ‘म निजी क्षेत्रका साथीहरुलाई पनि भन्न चाहन्छु । तपाइँहरु वास्तविक र व्यवहारिक बन्नुहोस् । त्यसबाट बाहिर गएर भीडमा लोकप्रिय बन्ने प्रतिस्पर्धा नगरौँ’, उनले भने, ‘सस्तो लोकप्रियताका लागि यस्ता गैरजिम्मेबार कुराका पछाडि नलागौँ । यसले कुनै दिन हामीले कल्पना नगरेको संकट निम्ताउन सक्छ।’

कोरोनाभाइसरका कारण मुलुकको आर्थिक अवस्था बिग्रिएको उल्लेख गर्दै ढकालले कोरोनाभाइरसका कारण वैदेशिक रोजगारमा जानेक्रम घट्दा, नेपाल फर्किएका कामदारहरु तत्काल विदेश जान नपाउँदा रेमिट्यान्सको आप्रवाहमा कमी आउन गएको बताए। 

त्यस्तै बाह्य पर्यटकको संख्या घट्दा र बैंकमा लगानी योग्य तरलताको अभाव हुँदा धेरै उद्योग व्यवसायहरु खुम्चिन बाध्य भएको ढकालले बताए। ‘तर, अहिले अर्थतन्त्रका केही कुराहरुमा सुधार आएको छ । वैदेशिक रोजगारमा जानेको संख्या पनि बढेको छ । विदेशबाट आउने पर्यटकको संख्या पनि बढ्न थालेको छ । रेमिट्यान्सको आप्रवाह पनि बढेको छ । बैंक तथा वित्तीय संस्थाहरुमा तरलताको अवस्थामा पनि सुधार देखिएको छ । र, आउने दिन आउने दिनमा अर्थतन्त्र यो भन्दा धेरै बिग्रिन्छ भन्ने मलाई लाग्दैन । केही न केही सुधार हुने मलाई विश्वास छ’, उनले भने। 

नवलपुरको धौवादी फलाम खानीबाट व्यवसायिक रुपमा फलाम उत्पादनको सम्भावना भएपनि लामो समयसम्म काम अघि बढ्न नसकेको उल्लेख गर्दै ढकालले यसको जिम्मा निजी क्षेत्रलाई दिन आग्रहसमेत गरे। ‘सरकारले हरेक बजेट तथा कार्यक्रममा यो फलाम खानीबाट फलाम उत्पादन गर्ने गरी कारखाना सञ्चालनका लागि कार्यक्रमहरु राख्ने गरेको छ तर आजसम्म त्यसको कार्यान्वयन हुन सकेको छैन’, उनले भने, ‘बरु, यसलाई निजी क्षेत्रको जिम्मा दिनुहोस् । हामी यसलाई सञ्चालनमा ल्याउँछौँ।’

आगामी चैतमा हुन गइरहेको नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनको प्रसंगमा ढकालले सकेसम्म सर्वसम्मत नेतृत्व चयनको प्रयास गर्न उद्योगी–व्यवसायीलाई आग्रह गरे। ‘मलाई साथीहरुले तपाइँले सर्वसम्मत नेतृत्वका लागि सुझाव दिने त होला भन्दै हुनुहुन्थ्यो । म प्रदेशको साथीहरुलाई आग्रह गर्न चाहन्छु’, उनले भने, ‘हामी राजनीतिक दलमा जस्तो चुनावी प्रक्रियामा नजाऔँ । केही प्रदेशहरुले सर्वसम्मत नेतृत्व छान्दै राम्रो उदाहरण पनि प्रस्तुत गरेका छन् । तपाइँ गण्डकी प्रदेशका साथीहरुले पनि सर्वसम्मत नेतृत्वको लागि प्रयास गर्नुहोस् । त्यस्तै, केन्द्रका आकांक्षी साथीहरुलाई पनि सकेसम्म निर्विरोध रुपमा नेतृत्व चयन गर्नका लागि म आग्रह गर्न चाहन्छु । त्यसो हुन नसकेमा तपाइँहरुले स्वस्थ र प्रजातान्त्रिक तरिकाबाट निर्वाचन प्रक्रियामा जान म आग्रह गर्न चाहन्छु।’

आगामी चैतपछि महासंघको नेतृत्व लिँदै गरेको प्रसंग उठाउँदै ढकालले गण्डकी प्रदेशको नयाँ नेतृत्वसँग मिलेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे।