काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रबाट सञ्चालन हुने उद्योग, व्यवसाय वा अन्य विकासका पूर्वाधारमा राज्यका सबै अंगबाट अपनत्व लिई सहजीकरण तथा उत्प्रेरणा प्रदान गर्न सकेमा छोटो समयमै विकास र सम्मृद्धि हासिल गर्न सम्भव रहेको बताएका छन्।
वीरगन्जमा शुक्रबार आयोजित औद्योगिक प्रवर्द्धन कार्यक्रम तथा मधेश सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले राज्य तथा यसका हरेक निकायबाट निजी क्षेत्रलाई पार्टनरको रुपमा लिनुपर्नेसमेत बताए। छोटो समयमा दक्षिणपूर्वी एसियाली मुलुक मेलेसियाले हासिल गरेको विकास र समृद्धिको उदाहरण दिँदै ढकालले भने, ‘निजी क्षेत्रले अगाडि बढाउने हरेक आयोजनामा तीनवटै तहका सरकार तथा राज्यका अन्य निकायबाट हुने सहजीकरणले निजी क्षेत्रलाई थप लगानी गर्न, थप रोजगारी सिर्जना गर्न र थप राजश्व बुझाउन मद्दत पुग्ने हो। विकास र समृद्धि हासिल हुने हो।’
‘सरकारले निजी क्षेत्रले सञ्चालन गर्ने उद्योग वा कुनै पनि पूर्वाधार आयोजनालाई हाम्रो पार्टनरसिपको आयोजना हो भन्ने गरी सहयोग र सहजीकरण गर्नुपर्यो। राज्यले निजी क्षेत्रलाई पार्टनरको रुपमा लिनुपर्यो। त्यस्ता आयोजना हामी सबैका साझा सम्पत्ति हुन् भनेर सबै निकायबाट अपनत्व लिनुपर्यो’, ढकालले भने, ‘तर, नेपालमा क्याबिनेटबाट भएका निर्णयहरुसमेत कार्यान्वयन हुन नसकेको अवस्था छ। त्यसले केन्द्रदेखि स्थानीयतहसम्मको प्रक्रियालाई सरलीकरण गर्नुपर्ने आवश्यकता रहेको छ।’
मधेश प्रदेशमा रहेका सम्भावित आयोजनाको पहिचान गर्न स्थानीय सरकार तथा व्यवसायीलाई आग्रह गर्दै ढकालले त्यस्ता आयोजनामा पुँजी र प्रविधिका लागि निजी क्षेत्रका तर्फबाट तथा व्यक्तिगत तर्फबाट आफूले पहलकदमी लिने बताए। ‘स्थानीय तह तथा यहाँका व्यवसायी साथीहरुले यस प्रदेशमा रहेका व्यवसायिक सम्भावना भएका आयोजनाहरुको पहिचान गर्नुहोस्। त्यस आयोजनालाई अगाडि बढाउन आवश्यक पर्ने पुँजी र प्रविधि जुटाउने र त्यसलाई निर्माण गरी सञ्चालन गर्न निजी क्षेत्रको तर्फबाट म तयार छु’, उनले भने।
नेपालको पर्यटन क्षेत्रको समग्र विकासका लागि केबलकार धार्मिक पर्यटन सर्किट निर्माण गर्न सकिने उल्लेख गर्दै ढकालले यसले पूर्वदेखि पश्चिमसम्म नै पर्यटन क्षेत्रको विकासमा सहयोग पुग्ने बताए। ‘अहिले बेला–बेलामा विभिन्न किसिमका पर्यटन सर्किटका कुरा उठ्ने गरेका छन् तर मैले नेपालको पूरै क्षेत्रलाई समेट्ने गरी केबलकार धार्मिक पर्यटन सर्किटको प्रस्ताव गरेको छु। यसले पूर्वदेखि सुदुरपश्चिमसम्म समेट्न सक्छ। अहिले सीमित क्षेत्रमा केन्द्रित रहेको पर्यटनलाई विकेन्द्रित गर्ने र नयाँ–नयाँ गन्तब्यहरु निर्माणमा सहयोग पुग्न सक्छ’, उनले भने।
पर्यटन क्षेत्रले पर्यटक र विदेशी मुद्रा भित्र्याउने मात्र नभई विभिन्न क्षेत्रसँग जोडिएका सानादेखि ठूलासम्म अनेकन व्यवसायलाई सहयोग पुग्ने हुँदा पर्यटन क्षेत्रको प्रवर्द्धमा राज्यले विशेष ध्यान दिनुपर्नेमा ढकालले जोड दिए। उनले अहिलेको पर्यटक बसाइ र उनीहरुको दैनिक खर्चलाई दोब्बर गर्न नयाँ–नयाँ पर्यटन पूर्वाधार निर्माण गर्नुपर्ने आवश्यकता औँल्याए।
पछिल्लो समय नेपाल–भारत सिमा क्षेत्रदेखि नजिक रहेका नेपालका हिल स्टेसनहरु भारतीय पर्यटकहरुको रोजाइका नयाँ गन्तब्य बन्ने गरेको बताउँदै ढकालले ती हिल स्टेसनहरुको प्रवर्द्धनमा विशेष कार्यक्रम बनाउन तीनवटै सरकारलाई आग्रह गरे।
6 minutes ago
29 minutes ago
27 minutes ago
50 minutes ago
55 minutes ago
59 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
2 hours ago