काठमाण्डौ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले बैंकको शेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्नका लागि ग्लोबल आइएमई क्यापीटल लिमिटेडलाई शेयर रजिष्ट्रारमा नियुक्त गरेको छ । 

सो सम्बन्धमा आज नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको केन्द्रीय कार्यालयमा भएको एक कार्यक्रममा बैंक र क्यापीटलबीच शेयर रजिष्ट्रार सम्बन्धी सम्झौता सम्पन्न भएको छ । 

सम्झौतापत्रमा बैंकको तर्फबाट नायब महाप्रबन्धक विनयनाथ न्यौपाने र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पारसमणि ढकालले हस्ताक्षर गरेका छन् । 

अधिकृत पुँजी रु ४० अर्ब र जारी पुँजी रु. २० अर्ब रहेको नेपालको एक मात्र पुर्वाधार बैंकको रुपमा नेपाल राष्ट्र बैंकबाट ईजाजतपत्र प्राप्त उक्त बैंकले हालै मात्र सर्वसाधारण (कर्मचारी र सामूहिक लगानी कोष समेत)को लागि हालसम्मकै ठूलो रकम रु. ८ अर्बको साधारण शेयर निष्कासन गरेको छ । 

माघ २ गतेदेखि खुल्ला भई माघ ६ गते बैंकिङ्ग कारोबार समयपश्चात बन्द हुन लागेको यस सार्वजनिक निश्कासनमा सर्वसाधारण लगानीकर्ताहरुको उत्साहप्रद सहभागिता रहेको देखिन्छ भने आइपीओको इतिहासमा सबैभन्दा धेरै आवेदन पर्ने निश्चित देखिएको छ ।