काठमाण्डौ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) को आईपीओमा हालसम्मकै धेरै आवेदन परेको छ।

सेयर निष्कासनकर्ता तथा बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलका अनुसार साँझ ६ बजेसम्म हालसम्मकै ठूलो यो आईपीओमा १५ लाख २९ हजार ४६० आवेदकले १८ करोड १२ लाख ८६ हजार ७२० कित्ता खरिदका लागि आवेदन दिएका छन्। यो कुल १८ अर्ब १२ करोड ८६ लाख ७२ हजार रुपैयाँबराबरको आवेदन हो। 

यसअघि चन्द्रागिरी हिल्स लिमिटेडको आईपीओमा १२ लाख ५० हजार बढीले आवेदन दिएका थिए।

बैंकले गत माघ २ गतेबाट ८ करोड कित्ता आईपीओ निष्कासन गरेको छ। प्रतिकित्ता रु. १०० का दरले निष्कासन गरिएको यो आईपीओको कुल ८ करोड कित्तामध्ये ०.२ प्रतिशत अर्थात् १ लाख ६० हजार कित्ता कर्मचारीका लागि र ५ प्रतिशत अर्थात् ४० लाख कित्ता म्युचुअल फण्डहरुका लागि आरक्षण छुट्याइएको छ। सर्वसाधारणका लागि भने ७ करोड ५८ लाख ४० हजार कित्ता छुट्याइएको छ।

यो हिसाबले निफ्राको आईपीओमा २.३९ गुणा बढी आवेदन परेको छ।