काठमाण्डौ । नेपाल इन्फ्रास्टक्चर बैंक लिमिटेड (निफ्रा) को आईपीओ बाँडफाँड भोलि शुक्रबार बिहान १० बजे हुने भएको छ।

धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलको काठमाण्डौ लाजिम्पाटस्थित मुख्यालयमा निफ्राको आईपीओ बाँडफाँड हुनेछ। 

आईपीओ बाँडफाँड कार्यक्रमको प्रत्यक्ष प्रसारण क्यापिटलको फेसबुक पेज पनि गरिनेछ। 

बैंकले गत माघ २ गतेबाट ८ करोड कित्ता आईपीओ निष्कासन गरेको थियो। प्रतिकित्ता रु. १०० का दरले निष्कासन गरिएको यो आईपीओको कुल ८ करोड कित्तामध्ये ०.२ प्रतिशत अर्थात् १ लाख ६० हजार कित्ता कर्मचारीका लागि र ५ प्रतिशत अर्थात् ४० लाख कित्ता म्युचुअल फण्डहरुका लागि आरक्षण छुट्याइएको थियो। सर्वसाधारणका लागि भने ७ करोड ५८ लाख ४० हजार कित्ता छुट्याइएको थियो।

यो आईपीओमा कुल १४ लाख ७५ हजार ८ वटा आवेदन सदर भएका छन् भने ६ हजार २७६ आवेदन बदर भएका छन्। 

क्यापिटलका अनुसार कुल सदर आवेदकमध्ये ११ लाख ९४ हजार ४ आवेदकले ५० कित्ताभन्दा माथि आवेदन दिएका छन्। बाँकी २ लाख ८१ हजार ४ आवेदकले १० देखि ५० कित्तासम्म आईपीओ भरेका छन्।

क्यापिटलका अनुसार ५० कित्तासम्म आवेदन दिनेलाई मागअनुसार नै आईपीओ बाँडफाँड गरिनेछ। ५० कित्ताभन्दा बढी आवेदन दिने ११ लाख ९४ हजार ४ आवेदकलाई समानुपातिक हिसाबले ५०/५० कित्ता र यिनैमध्ये भाग्यमानी ४ लाख ९२ हजार ७२ जनाले थप १० कित्ता सेयर लक्की ड्रमार्फत पाउने छन्। 

क्यापिटलका अनुसार लक्की ड्रमा भने तिनै ११ लाख ९४ हजार ४ आवेदकलाई मात्र समावेश गरिनेछ।