काठमाण्डौ । लगातार २ दिन भारी करेक्सन व्यहोरेको बजारले आज मंगलबार गतिलो बाउन्सब्याक गरेको छ।

आज बजार ९२.४६ अंकले उकालो लागेको छ। योसँगै नेप्से परिसूचक २५९९.०७ अंकको विन्दुमा पुगेको छ। राम्रा र बलिया कम्पनीको सूचक पनि १४.४८ अंकले बढ्दै ४६७.२८ को विन्दुमा उक्लिएको छ। कारोबार रकम भने घटेर सवा ५ अर्ब रुपैयाँको हाराहारीमा भएको छ। 

बजार जानकार गोविन्दप्रसाद घिमिरेले नियामक निकायहरुले कुनै पनि बहानामा सेयर बजार बन्द हुँदैन भन्ने सुखद् खबर आमलगानीकर्तालाई दिएकै कारण आज बजार बढेको बताउँछन्। ‘कोरोना जोखिम बढ्दै जाँदा बजार बन्द हुन्छ कि भन्ने द्विविधामा आमलगानीकर्ता थिए, सोही कारण यो साताको पहिलो दुई दिन बजार घट्यो’, उनले भने, ‘तर नियामकले बजार निर्वाध रुपमा चल्ने भनेपछि आमलगानीकर्ताको मनोबल बढ्दा आज बजारले सकारात्मक गति लियो।’

घिमिरे हिजोअस्तिको बजार घटाइलाई सामान्य करेक्सनका रुपमा लिनुपर्ने पनि बताउँछन्। ‘अब बजार ५०–६० अंकले घट्दा सामान्य रुपमा लिनुपर्छ’, उनले भने, ‘बजार ५०–६० अंकले नै बढ्दा पनि त्यही हो। यो बजारको प्राकृति उतारचढाव नै हो।’

विशेषगरी अहिले बैंक तथा वित्तीय कम्पनीहरुको राम्रो त्रैमास रिपोर्ट सार्वजनिक भइरहेको हुँदा पनि बजार बाउन्सब्याक भएको घिमिरेको तर्क छ। ‘अब भोलि बजार के होला भनेर अहिले नै अनुमान गर्न सकिँदैन तर १–२ दिनको कारोबारपछि बजारको वास्तविक लय थाहा हुन्छ’, उनले भने, ‘अब बजार माथि नै जाने हो, भारी गिरावट आउने सम्भावना कमै छ।’

सक्रिय लगानीकर्ता प्रकाश न्यौपानेले बजार कोरोना सन्त्रासकै कारण केही दिन घटेको बताए। ‘बजारमा नयाँ लगानीकर्ताहरु थुप्रै भित्रिएका छन्, उनीहरुले बजारको गतिलाई बुझ्न नसक्दा आत्तिएर कम भाउमै धमाधम सेयर बेच्दा बजारमा करेक्सन आयो’, उनले भने, ‘देशको अर्थतन्त्र बिग्रिसकेको अवस्था छैन, त्यसैले बुलिस ट्रेन्डको बजारमा उतारचढावलाई सामान्य रुपमा लिनुपर्छ।’

बजार घट्ला–बढ्ला तर भोलिबाट बजार सम्हालिने सम्भावना रहेको पनि न्यौपानेको भनाइ छ। 

आज नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा हरियाली छाएको छ। यो दिन जीवन बीमा समूह ५५८.६३ अंकले उकालो लागेको छ। निर्जीवन बीमा समूह ५४३.२७ अंकले बढेको यो दिन बैंकिङ समूहमा ४५.१३ अंक, व्यापार समूहमा १९०.७२ अंक, होटेल तथा पर्यटन समूहमा ३९.३५ अंक, विकास बैंक समूहमा ९३.७६ अंक, जलविद्युत् समूहमा १५३.०८ अंक, वित्त समूहमा ३५.३७ अंक, उत्पादन तथा प्रशोधन समूहमा २३९.०३ अंक, अन्य समूहमा ६९.६५ अंक, लघुवित्त समूहमा २३७.६५ अंक, म्युचुअल फन्ड समूहमा ०.१८ अंक र लगानी समूहमा ४.३४ अंकको बढोत्तरी भएको छ।

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २१५ कम्पनीका १ करोड २ लाख २ हजार २१९ कित्ता सेयर ५ अर्ब १० करोड ९० लाख ९६ हजार ९५७ रुपैयाँमा किनबेच भएका छन्।

यो दिन माथिल्लो तामाकोशीको सर्वाधिक २३ करोड ८२ लाख रुपैयाँ बढीको कारोबार भएको छ। निफ्राको २१ करोड १६ लाख रुपैयाँबराबरको कारोबार भएको आज नेपाल पुनर्बीमा कम्पनीको १४ करोड ५१ लाख रुपैयाँ, नबिल बैंकको १३ करोड ५७ लाख रुपैयाँ, छिमेक लघुवित्तको १३ करोड ५२ लाख रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सको १२ करोड ९ लाख रुपैयाँ, अपी पावरको ११ करोड ७७ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको ११ करोड ६२ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको १० करोड ८६ लाख रुपैयाँ र हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्टको १० करोड ५० लाख रुपैयाँ बढीको कारोबार भएको छ।

धेरै कमाउने र धेरै गुमाउने

आज ७ वटा कम्पनीका सेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ। यो दिन माथिल्लो तामाकोशीको सेयरमूल्यमा १० प्रतिशत तथा विशाल बजार कम्पनी, महिला लघुवित्त, युनाइटेड इन्स्योरेन्स, समिट लघुवित्त, मल्टीपर्पस फाइनान्स र ग्लोबल आईएमई लघुवित्तको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजेटिभ सर्किट लागेको हो। आज अरुण भ्याली हाइड्रोपावर, छ्याङ्दी हाइड्रोपावर, उन्नति सहकार्य लघुवित्त र युनाइटेड इदी मर्दीको सेयरभाउ पनि ९ प्रतिशतले उकालो लागेको छ।
आज गुडविल फाइनान्सको सेयरभाउ १ प्रतिशत बढीले ओरालो लागेको छ।