– अर्जुन तिमिल्सिना

काठमाण्डौ। सेयर बजारमा विभिन्न औजारले फरक–फरक सिग्नल देखाएका हुन्छन्। केही दिनदेखि ठूलो अंकले घटेको बजारमा अब सपोर्ट कतिमा होला र अझै कति अंकले घट्ला ? भन्ने सबैमा जिज्ञासा हुन सक्छ। त्यही जिज्ञासा मेट्ने उद्देश्यले आज हामीले केही विश्व बजारमा चलेका औजारका आधारमा बजारको प्रक्षेपण गर्ने कोसिस गरेका छौँ। 

प्राविधिक रुपमा बजारलाई विश्लेषण गर्नुपर्दा गएको साताको अन्तिम कारोबारमा ह्यागिङ म्यान बनेको छ (हेर्नुहोस् रातो एरो)। मैनबत्ती विश्लेषणअन्तर्गत यस्तो आकृति बन्छ भने बजार घट्ने संकेत भनेर बुझ्नुपर्छ। त्यसपछिका कारोबारमा निरन्तर बजारमा बिक्रीचाप आएको देखिन्छ। मैनबत्ती विश्लेषणअन्तर्गत केही दिन बजार बढ्ने सम्भावना कमै देखिन्छ।

प्राविधिक पक्ष

इलिअट वेभका आधारमा 

यो सिद्धान्तमा ५ वेभ र ९ डिग्री हुन्छन्। त्यस्ता डिग्रीले सानाठूला गरेर १ दिनदेखि १०० वर्षसम्मको समय अवधिलाई प्रतिनिधित्व गर्छन्। इलिअट वेभमा बजार माथि जान ५ फरक–फरक वेभ हुन्छन् भने तल जान ३ वेभ हुन्छन्। माथि लाग्ने ५ वेभमा पनि ३ वटा चढावका र २ वटा सुधारका देख्न सकिन्छ। यसमा १, ३, ५ चढावका हुन्छन् भने २ र ४ मा करेक्सनका हुन्छन्। वेभ ५ को करेक्सन वेभ ए हो। वेभ ए, बी र सीले बजार तल जाने संकेत गर्छन्। 

इलिअट वेभमा बजार विश्लेषण गर्दा विभिन्न विकल्पलाई हेरिन्छ। सबैभन्दा बढी सम्भावना भएको एउटा विकल्पलाई मुख्य आधार बनाएर हामीले पाठकसामु ल्याएका छौँ। यही आधारमा बजारको विश्लेषण गर्नुपर्दा माइनर डिग्रीको वेभ ५ लगभग ३२२२ को विन्दुसम्म पुगेर सकिएको छ। बजार यही विन्दुबाट तल झरेर सोही डिग्रीको वेभ ए बनाउँदै बजार लगभग २८०० को विन्दुभन्दा केही तल आएर बजार फर्केको थियो । वेभ बी बनाउन केही अंक बढेर वेभ सी बनाउँदै हाल बजार २६६० को विन्दुमा एउटा बलियो टेवाको सम्भावना देखिन्छ। यो विन्दुमा नै बजारले टेवा लिन सक्ने थप प्राविधिक आधार पनि सेयर बजारमा देखिन्छन्। जस्तै– फिवोनासी रिट्रेस्मेन्टलाई तल्लो विन्दुबाट माथिसम्म तानेर हेर्ने हो भने ०.६१ प्रतिशतमा २६६० को तह पर्छ। यो तहमा धेरै प्रोफेसनल ट्रेडरहरु बजार छिर्ने गर्छन्। 

त्यस्तै थप आधारहरुमा  पिभट  प्वइन्टको पहिलो सपोर्ट (हेर्नुहोस् विश्लेषणको अन्त्यमा) पनि यही विन्दुमा परेको तथा बोलिंगर ब्यान्डमा पनि तल्लो ब्यान्डमा दोस्रोपटक टेस्ट गर्ने कोसिस गरेकोले बजार यही विन्दुबाट वा केही तल वा माथिबाट पुनः माथि नै जान सक्ने अनुमान लगाउन सकिन्छ। बजारको आरएसआई पनि ओभर सोल्ड जोननजिक पुगेकोले केही कारोबारपछि बजारमा अल्पकालीन लगानीकर्ता पुनः एकपटक हावी हुन सक्छन्। यद्यपि सेयर बजार हामीभन्दा स्मार्ट हुन्छ भन्ने तथ्य पनि हामीले भुल्न भने हुँदैन। (मुख्य तस्बिर माथि) 

एमएसीडी लाइन र अरएसआईका आधारमा

एमएसीडी लाइन भनेको सेयर अर्थात बजार परिसूचकको अन्तिम मूल्यको २६ दिन र १२ दिनको एक्सपोनियल मुभिङ एभरेज हो। यसमा एमएसीडी लाइन र सिग्नल लाइन गरी दुई लाइन हुन्छन्। यदि एमएसीडी लाइनले सिग्नल लाइनलाई तलबाट काट्छ भने बुलिस क्रस ओभर र माथिबाट काट्छ भने बियरिस क्रस ओभर हुन्छ। यो लाइनअन्तर्गत गत अगस्ट १८ मा एमएसीडी लाइनले सिग्नल लाइनलाई माथिबाट काटेको छ (हेर्नुहोस् रातो एरो)। हिस्टोग्रामहरु (कालो एरोले देखाएको)  नेगेटिभ भएका छन्। एमएसीडी लाइन र सिग्नल लाइन टाढा टाढा भएकोले बिक्रीचाप परेको बुझ्न सकिन्छ। आरएसआई ३४.३५ को ओभर सोल्ड जोननजिक रहेको छ। यसले केही कारोबारमा अल्पकालीन लागनीकर्ता हाबी हुन सक्ने बुझिन्छ।

एमएसीडी लाइन र आरएसआईका आधारमा समूहगत विश्लेषण

वाणिज्य बैंक समूह

वाणिज्य बैंक समूहमा यो साताको आजको कारोबारमा  बुलिस क्रस ओभर देखिएको छ (हेर्नुहोस् हरियो एरो)। यसले आगामी दिनमा पुनः बैंकिङ समूहमा खरिदचाप आउन सक्ने अनुमान गर्न सकिन्छ। आरएसआई भने ४२ को न्युट्रल जोनमा रहेको छ। यसले भने पर्ख र हेरको अवस्थालाई दर्शाउँछ। 

विकास बैंक समूह

यो साता विकास बैंक पनि बियारिस क्रस ओभरमा नै  चलेको छ भने अझै हिस्टोग्राम पनि नेगेटिभ नै छन् तर घट्दैघट्दै (हेर्नुहोस् कालो एरो) गएकोले निकट भविष्यमा बुलिस क्रस ओभरको सम्भावना देखिन्छ। आरएसआई  न्युट्रल जोन अर्थात पर्ख र हेरको अवस्थामा भएको बुझिन्छ।

जलविद्युत समूह

यो साता जलविद्युतमा पनि बियरिस क्रस ओभरले निरन्तरता पाएको छ। गत २४ अगस्टमा बियरिस क्रस ओभर भएको थियो। जुन अहिले पनि निरन्तरता छ। एमएसीडी लाइन र सिग्नल लाइन टाढा–टाढा भएका छन्। यसले बिक्रीचाप परेका बुझिन्छ। आरएसआई ३८ को विन्दुमा रहेको छ। यदि आगामी कारोबारमा ३० भन्दा तल जान्छ भने खरिदको अवसर हुन सक्छ।

लघुवित्त समूह 

लघुवित्तमा पनि गत २५ अगस्टमा बियारिस क्रस ओभर भएको थियो। जुन हालसम्म पनि भ्यालिड नै छ। हालसम्म पनि हिस्टोग्राम नेगेटिभ नै छन् भने विस्तारै लामा–लामा  बन्दै गएकोले बजारमा बिक्रीचापको हुँदै गएको देखिन्छ। आरएसआई पनि पुनः एकपटक ३४ को तहमा आएको छ। अघिल्लोपटक यही विन्दुबाट फर्केको थियो। 

निर्जीवन बीमा समूह

निर्जीवन बीममा बियरिस क्रस ओभर नै छ भने  हिस्टोग्रामा नेगेटिभ नै भएका छन्। बियरिसपछि एकपटक बुलिस हुने कोसिस गरेको तर पुनः बियरिसतिर नै झरेको छ। एमएसीडी र सिग्नल लाइन टाढा–टाढा भएका छन्। आरएसआई पुनः एकपटक घटेर ३४ को जोनमा पुगेको छ। अझै केही समय घट्छ भने अल्पकालीन लगानीकर्ताका लागि खरिदको अवसर हुन सक्छ।

जीवन बीमा समूह 

जीवन बीमामा एमएसीडी लाइन हालसम्म पनि वियरिस क्रस ओभर नै छ। हिस्टोग्राम पनि नेगेटिभ भएका छन्। यसमा पनि निर्जीवन समूहको जस्तै अवस्था छ। आरएसआई ३५ को तहमा छ। 

वित्त समूह 

यो साता पनि वित्त समूहमा सिग्नल बियरिस क्रस ओभर नै भएको छ। हिस्टोग्राम नकारात्मक नै छन्। आरएसआई ४२ बाट घटेर ३९.१९ को तहमा आएको छ। यदि यो अझै घटेर ओभर सोल्डनजिक आए खरिदको अवसर हुन सक्छ।

लगानी क्षेत्र 

यो क्षेत्रमा पनि सिग्नल बियरिस क्रस ओभर नै रहेको छ। हिस्टोग्राम नेगेटिभ नै छन्। आरएसआई पुनः ४० बाट घटेर ३२ मा पुगेको छ। ३० भन्दा तल पुग्छ भने सेयर सस्तो हुँदै गएको र खरिदको अवसर भएको बुझिन्छ।

बजारको पिभट 

बजार घटेमा 

  • पहिलो सपोर्ट –२६६१
  • दोस्रो सपोर्ट– २५०२
  • तेस्रो सपोर्ट –२३९२ 

पिभट प्वइन्ट –२७७२

बजार बढेमा 

  • पहिलो प्रतिरोध–  २९३०
  • दोस्रो प्रतिरोध –३०४१
  • दोस्रो प्रतिरोध– ३१९९

नोट : सेयर बजारमा प्राविधिक विश्लेषण विभिन्न औजारमा आधारित अनुमान हो। लगानीकर्ताले लगानी गर्दा आफ्नो जोखिम लिन सक्ने क्षमता र कम्पनीको वित्तीय अवस्था हेरेर लगानी गर्नुपर्छ। यो कुनै कारोबारको सिफारिस भने होइन। कारोबार गर्दा आफ्नो स्वविवेक प्रयोग गरिनुपर्छ।