– अर्जुन तिमिल्सिना

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा उत्पादन तथा प्रशोधन समूहमा सूचीकृत शिवम् सिमेन्ट सन् २००३ मा स्थापना भएको कम्पनी हो। यो कम्पनीले सन् २०११ बाट उत्पादन सुरु गरेको थियो। 

कम्पनीले सर्वसाधारणका लागि सन् २०१५ मा आईपीओ निष्कासन गरेको थियो। कम्पनीले चुक्तापुँजीको १० प्रतिशत सेयर सर्वसाधारणलाई र २ प्रतिशत सेयर स्थानीयलाई गरी कुल ५२ लाख ८० हजार कित्ता सेयर बिक्री गरेको थियो। कम्पनीले आफ्नो पुँजीको ३० प्रतिशत होङ्सी सिमेन्टमा लगानी गरेको छ।

नेपालमै सबैभन्दा ठूलो ग्रिनफिल्ड प्रोजेक्टका रुपमा रहेको यो कम्पनीले ४३ र ५३ ग्रेडको ओपीसी सिमेन्ट उत्पादन गर्दै आएको छ। 

आधारभूत पक्ष

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म कम्पनीको चुक्तापुँजी ४ अर्ब ४० करोड रुपैयाँ रहेको छ। सेयर प्रिमियममा ९५ करोड ६२ लाख रुपैयाँ बढी रहेको छ। 

रिटेन अर्निङमा ३ अर्ब ६० करोड रुपैयाँ रहेको कम्पनीले दोस्रो त्रैमासमा ४२ करोड ७३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) १९.४२ रुपैयाँ, प्रतिसेयर नेटवर्थ २०३.५९ रुपैयाँ र प्रतिसेयर कुल सम्पत्ति २९१.४६ रुपैयाँ रहेको छ। कम्पनीको रिटर्न अन इक्विटी ९.५४ प्रतिशत रहेको छ।

अन्तिम कारोबार मूल्यअनुसार यो कम्पनीको सेयर प्रतिकित्ता ९९० रुपैयाँ कायम भएको छ। 

कम्पनीको ४ वर्षको औसत नगद लाभांश दर २१.९ प्रतिशत रहेको छ। 

इलिअट वेभ सिद्धान्तका आधारमा 

यो सिद्धान्त १९३९ मा राल्फ नेल्सन इलिअटले प्रतिपादन गरेका हुन्। प्राविधिक विश्लेषणमा यो वेभ किन पनि धेरै विस्वाशिलो मानिन्छ भने यो वेभ लाखौँ लगानीकर्ताको मनोविज्ञानलाई प्रतिनिधित्व गर्छ। खासमा सेयर बजार सेयरको मूल्य लगानीकर्ताको मनोविज्ञानले नै निर्धारण गर्ने हुँदाँ यो महत्वपूर्ण छ। 

यो वेभमा ५ वेभ हुन्छन्। इलिअट वेभमा बजार माथि जान ५ फरक–फरक वेभ हुन्छन् भने तल जान ३ वेभ हुन्छन्। माथि लाग्ने ५ वेभमा पनि ३ वटा चढावका र २ वटा सुधारका देख्न सकिन्छ। यसमा १, ३, ५ चढावका हुन्छन् भने २ र ४ मा करेक्सनका हुन्छन्। वेभ ५ को करेक्सन वेभ ए  हो। वेभ ए, बी र सीले  बजार तल जाने संकेत गर्छ। 

यो कम्पनीको हालसम्म बजार मूल्यले बनाएको चार्टलाई अध्ययन गर्दा ३५० रुपैयाँदेखि हालसम्मको मूल्यलाई चार्टमा राख्दा एकपटक मूल्य १९०० भन्दा माथि पुगेछ। हाल ९९० रुपैयाँ अथवा अझै केही समय करेक्सन भएर करिब ३ वर्षको समय अवधिमा कम्पनीको मूल्यले १, २, ३, ४ र ५ र ए, बी र सी बनाएर एउटा चक्र पूरा गरेको हुन सक्छ। 

इलिअट वेभको नयाँ चक्रअन्तर्गत यदि यो कम्पनीको सेयरभाउले उकालो यात्रा तय गर्छ भने वेभ (१) मा १३०० रुपैयाँसम्म, वेभ (२) मा ११०० रुपैयाँसम्म र वेभ (३) मा १६८० रुपैयाँसम्म पुग्न सक्छ। वेभ (४) मा करेक्सन भएर १५०० रुपैयाँसम्म र वेभ (५) मा पुनः बढोत्तरीका साथ २१०० रुपैयाँसम्म पुग्न सक्ने देखिन्छ। (माथि मुख्य तस्बिरमा हेर्नुहोस्)

फिवोनासी सिद्धान्तका आधारमा 

फिवोनासी एक्सटेन्सन एउटा यस्तो टुल हो, जसले एकपटक बढेपछि बजार घट्दा कतिसम्म तल आउन सक्छ र कति–कतिमा टेवा लिन्छ भन्ने विषय अनुपातका आधारमा संकेत गरेको हुन्छ। बढ्दा पनि कति–कति प्रतिशतमा प्रतिरोध गरेको हुन्छ भन्ने यी अनुपातबाट अनुमान लगाउन सकिन्छ। यस्ता अनुपातलाई फिवोनासी गोल्डेन अनुपात पनि भनिन्छन्। ती अनुपातहरु २३.६, ३८.२, ५०, ६१.८ र १०० प्रतिशत हुन्।  

यदि यो कम्पनीको सेयरभाउ घटेमा ०.२३ प्रतिशतको टेवामा १६२८ रुपैयाँसम्म, ०.३८ प्रतिशतको टेवामा १४६३ रुपैयाँसम्म, ०.५ प्रतिशतको टेवा १३६१ रुपैयाँ, ०.६१ प्रतिशतको टेवा ११७६ रुपैयाँसम्म र ०.७८ को टेवामा ९८०  रुपैयाँसम्म हुन सक्ने देखिन्छ।

एमएसीडी लाइनका आधारमा

सेयर प्राविधिक विश्लेषणमा प्रयोग हुने यो औजार गेराल्ड अपीले प्रतिपादन गरेका हुन्। एमएसीडी लाइन भनेको सेयर अर्थात बजार परिसूचकको अन्तिम मूल्यको २६ दिन र १२ दिनको एक्सपोनियल मुभिङ एभरेज हो। यसमा एमएसीडी लाइन र सिग्नल लाइन गरी दुई लाइन हुन्छन्। यदि एमएसीडी लाइनले सिग्नल लाइनलाई तलबाट काट्छ भने बुलिस क्रसओभर र माथिबाट काट्छ भने बियरिस क्रसओभर हुन्छ। यो लाइनलाई आधार मान्ने हो भने एमएसीडी लाइनले सिग्नल लाइनलाई माथिबाट काट्न थालेको र हिस्टोग्राम सकारात्मक तथा छोटा–छोटा बन्दै गएको देखिन्छ। यसले अझै केही सामान्य करेक्सन हुन सक्ने देखिन्छ। 

बोलिंगर ब्यान्डका आधारमा 

यो सिद्धान्त १९८० को दशकमा जोन बोलिंगरले प्रतिपदान गरेका हुन्। यो औजार सेयर, डेरिभेटिभ तथा विदेशी मुद्राको मूल्यमा हुने उतारचढावको  विश्लेषणलाई मध्यनजर गरी तयार पारिएको हो। यसमा ३ वटा ट्रेन्ड लाइन हुन्छन्। पहिलो (बीचको) सामान्य चलायमान औसत रेखा, दोस्रो अप्पर ब्यान्ड र तेस्रो लोअर ब्यान्ड। यो ब्यान्डको सामान्य नियम भनेको मूल्य माथिल्लो र तल्लो ब्यान्डमा सीमित हुन्छ भन्ने हो। अर्थात् अझ सरल भाषामा भन्नुपर्दा जब मूल्यरेखाले माथिल्लो रेखालाई छुन्छ तब बजारमा करेक्सन हुन्छ र जब तल्लो रेखालाई छुन्छ तब बजार स्वाभाविक रुपमा फेरि माथितिर जान थाल्छ भन्ने हो। 

यो औजारअन्तर्गत यो कम्पनीको मूल्यरेखा ४ महिनादेखि तल्लो ब्यान्डलाई छोएर कारोबार भएको छ। यो साता घटेको मूल्यमा सेयर भोलुम बढेका कारण आगामी साता केही अल्पकालीन लगानीकर्ता हावी हुन सक्ने देखिन्छ।

आरएसआईका आधारमा 

आरएसआई विन्दुअन्तर्गत १४ दिनको मूल्यलाई आधार मानेर भविष्यमा हुने मूल्य परिर्वतनको भविष्यवाणी गरिन्छ। यसमा ५० को जोनलाई सेन्ट्रल जोन, ३० भन्दा तल ओभर सोल्ड जोन र ७० भन्दा माथिलाई ओभर बट जोन भनेर छुट्याइन्छ। 

यो कम्पनीको हालको आरएसआई २७.५४ मा  रहेको छ। यो भनेको ओभर सोल्ड जोनमा रहेको छ भन्ने हो। अघिल्लोपटक यो न्यून विन्दु १८.२९ को तहमा पुगेपछि सेयरमूल्य उकालो लागेको थियो भने उच्चतम विन्दु ७० को तहमा पुगेपछि सेयरभाउ ओरालो लागेको थियो। यसलाई आधार मान्दा सेयरमूल्य ओभर सोल्ड जोनमा रहेको र अल्पकालमा केही बढोत्तरीको सम्भावना पनि हुन सक्ने देखिन्छ।

पिभट विश्लेषणका आधारमा 

पिभट विश्लेषण भनेको सेयर तथा डेरिभेटिभको  अधिकतम, न्यनूतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ।

बढेमा प्रतिरोध 

  • प्रतिरोध १– १०८२
  • प्रतिरोध २– ११०३
  • प्रतिरोध ३– ११३०

पिभट प्वइन्ट : १०५५

घटेमा सपोर्ट 

  • सपोर्ट १– १०३४
  • सपोर्ट २– १००७
  • सपोर्ट ३– ९८६

निष्कर्ष

यो कम्पनीको सेयरमूल्य करिव ३ वर्षको समयावधिमा ३५० रुपैयाँदेखि १९०० रुपैयाँसम्म पुगेको देखिन्छ। हाल ९९० रुपैयाँमा अन्तिम कारोबार भएको यो कम्पनीको सेयर प्रतिकित्ता लगभग १००० रुपैयाँसम्म करेक्सन आएपछि अन्तिम कारोबारमा टप कारोबारमा परेको छ। केही अल्पकालीन औजारले यो कम्पनीको सेयरमूल्यमा अझै केही करेक्सन हुन सक्ने देखिन्छ। दीर्घकालीन औजारअन्तर्गत भने यो कम्पनीको सेयरभाउमा केही करेक्सनपछि पुनः उकालो लाग्न सक्ने देखिन्छ। 

आरएसआईको विन्दु ओभर सोल्डमा पुगेको छ भने बोलिंगर ब्यान्डअन्तगर्त पनि तल्लो ब्यान्डमा छोएर कारोबार भएको छ। यो कम्पनीको  आओरली चार्टअन्तर्गत रातो मारुबुजु क्यान्डलसहित इन्भर्टेड ह्याम्मर बनेकोले सेयरमूल्यमा रिभर्सलको सम्भावना पनि देखिन्छ। 

नोट : सेयर बजारमा प्राविधिक विश्लेषण एक औजारमा आधारित अनुमानित विश्लेषण हो। यसको अर्थ सेयर बजारमा हामीले यही नै हुन्छ भनेर ठोकुवा गरेका होइनौँ। लगानीकर्ताले लगानी गर्दा आफ्नो जोखिम लिन सक्ने क्षमता र कम्पनीको वित्तीय अवस्था हेरेरमात्र लगानी गर्नुपर्छ। यो कारोबारका लागि सिफारिस भने होइन।