काठमाण्डौ । भूराजनीतिक तनावको चिन्ता कम भएपछि तेलको मूल्य बिहीबार घट्यो । 

चीनमा कोभिड–१९ का बढ्दो संख्याले विश्वको सबैभन्दा ठूलो कच्चा तेल आयातकर्तामा मागको चिन्ता थपिदिंदा यस्तो अवस्था बन्न पुगेको हो । 

ब्रेन्ट क्रूड फ्यूचरको मूल्य आज प्रतिब्यारेल १.०४ डलरले घटेर ९१.८२ डलर प्रतिब्यारेलमा सीमित बन्न पुगेको छ । यस्तै, यूएस वेस्ट टेक्सास इन्टरमिडिएट(डब्ल्यूटीआई)को मूल्य पनि १.१७ डलरले घटेर प्रतिब्यारेल ८४.४२ डलरमा सीमित बन्न पुगेको छ । 

हंगेरीमा डुज्बा पाइपलाइनबाट रुसी तेल ढुवानी पुनः सुरु भएको खबरपछि बुधबार ब्रेन्टको मूल्य १.१ प्रतिशत र डब्ल्यूटीआईको १.५ प्रतिशतले घटेको थियो । 

'नेटोले पोल्याण्डमा रुसको क्षेप्यास्त्र आक्रमणलाई निस्तेज पारेपछि कच्चा तेलको भाउ घट्यो, जब कि चीनमा बढ्न थालेको कोभिडका केसहरुबाट बढेको चिन्ता र विश्वभरका अर्थतन्त्रमा छाएको निराशाको बादलका कारण कच्चा तेलको मूल्य लगतार घटिरहेको हो ।'-रोयटर्ससँग कुरा गर्दै एक अन्तराष्टिय बजार विश्लेषक टिना टेंगले भनेका छन् । 

ओएण्डाका वरिष्ठ बजार विश्लेषक एडवर्ड मोयाका अनुसार पोल्याण्ड र सैन्य गठबन्धन नाटोले बुधबार भन्यो कि नाटो सदस्य पोल्याण्डभित्र दुर्घटनाग्रस्त मिसाइल सम्भवतः यूक्रेनको हवाई प्रतिरक्षाद्वारा प्रक्षेपण गरिएको थियो र रुसी हमला होइन, र सीमा पार भएको रुसी र यूक्रेनबीच युद्धको डर कम गर्नका लागि यो सबै भएको थियो । 'यस्तो देखिन्छ कि हामीले रुसीहरुबाट तत्काल ठूलै प्रतिवाद हुने अवस्था देखिरहेका छैनौं र यसले अस्थायी रुपमा केही छोटो अवधिको आपूर्ति जोखिमहरुलाई हटाइदिएको छ ।'-उनले भनेका छन् । 

यही बेला विश्वमा कच्चा तेलको सबैभन्दा ठूलो उपयोगकर्ता अमेरिकाको स्टक गत हप्ता ५.४ प्रतिशतले घटेको छ । अब स्टक घटेर ४३५.४ मिलियन ब्यारेलमा सीमित बन्न पुगेको छ । यो भनेको रोयटर्सको पोलमा प्रक्षेपण गरिएको ४४० मिलियन ब्यारेल भन्दा कम हो । तथापि यही बीचमा पेट्रोल र डिस्टीलेट इन्धनको उत्पादन भने अपेक्षाभन्दा बढी भएको छ । 

तर विश्वका प्रमुख शक्तिराष्ट्रहरुमा देखिएका पछिल्ला परिदृश्य र अर्थतन्त्रमा मडारिएका काला बादलहरुलाई आधार मान्ने हो भने कच्चा तेलको मूल्य आगामी दिनमा अझै तल झर्नसक्ने प्रक्षेपण गर्न सकिने विश्लेषकहरु बताउँछन् ।