काठमाण्डौ । बीमा कम्पनीहरुको नियामक निकाय बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले निर्जीवन बीमा कम्पनीहरुलाई हकप्रद निश्कासनमा रोक लगाउने कुनै निर्णय नभएको र नहुने प्रष्ट पारेका छन् । 

आफूहरुको आशयलाई गलत ढंगले प्रचार गरी फेरि सेयर बजारमा खेल्ने काम भएको भन्दै अध्यक्ष सिलवालले बोनस बाँड्दै आएका निर्जीवन बीमा कम्पनीहरुले हकप्रद निश्कासन गर्न पाउने बताएका हुन् । 

'कतिपय कम्पनीहरुले हकप्रद निश्कासन गर्ने भन्दै सेयर बजारमा आफ्नो कम्पनीको मूल्य बढाउने काम गरेका पाइएको छ । तर, हाम्रोमा ती कम्पनीमध्ये कसैले पनि हकप्रदबाट पूँजी वृद्धि गर्ने प्रस्ताव पेश गरेका छैनन् ।' अध्यक्ष सिलवालले बिजशालासँग भने-' कम्पनीहरुले प्रस्ताव पेश गरेपछि हकप्रदबाट पूँजी बढाउनुपर्ने कारणको सान्दर्भिकता पुष्टि गर्नुपर्छ । हामीलाई प्रष्ट कारण र आधारसहित प्रस्ताव आए हकप्रदको प्रस्तावलाई स्वीकृति नदिने भन्ने कुरै हुँदैन ।' 

अजोड इन्स्योरेन्सले प्रस्ताव गरेको हकप्रदका नाममा बजारमा चलखेल भएको विषयसँग जोडेर कतिपय संचारमाध्यमहरुले बाँकी कम्पनीले समेत हकप्रद नै जारी गर्न नपाउने भनी प्रचार गरेको देख्दा आफू पनि अचम्ममा परेको उनले बताए । 'म पनि मिडियाहरुमा यस्ता समाचार हेरिरहेको छु ।' उनले थपे-'यस्ता समाचारमा सत्यता छैन । हामीले हकप्रद नै जारी गर्न नपाउने निर्णय गरेको वा गर्र्दैैछौं भन्ने कुरा भ्रामक र खण्डनयोग्य छ ।' 

उनले विशेष गरी लाभांश क्षमता भएका कम्पनीहरुले हकप्रदमा भन्दा बोनस सेयरमा जोड गरेर अगाडि बढ्दा लगानीकर्ताको हित हुने बताए । 'बोनस जारी गरेर पनि कम्पनीले राखेको लक्ष्य पूरा हुने अवस्था छैन भने हकप्रद जारी गर्न कुनै रोकटोक हुन्न ।'-उनले अझ प्रष्ट पार्दै भने । 

उनले हकप्रद जारी गर्नुपर्ने बलियो आधार प्रस्तुत गर्न नसक्ने कम्पनीहरुले साइज ठूलो बनाउनका लागि मर्जरमा जानुपर्ने प्रष्ट पारे । 'मर्जर गरेर पनि ठूलो साइज बनाउन सकिन्छ ।' उनले थपे-'भर्खरै संचालनमा आएका र बोनस समेत नबाँडेकाहरुले यो बाटो रोज्दा उत्तम हुन्छ ।'