काठमाण्डौ । गहुँ निकासीमा प्रतिबन्ध लगाए पनि भारतमा यसको मूल्यमा खासै घट्न सकेको छैन। 

निर्यातमा प्रतिबन्ध लगाउने निर्णय भएको १० दिनपछि भारतमा गहुँको थोक मूल्य प्रतिक्विन्टल भारु १५ देखि ७५ मात्रै घटेको छ। तर, खुद्रा मूल्यमा खासै कमी आएको छैन। जसका कारण बिस्कुट, रोटी, चाउचाउलगायत बेकरीका सामानको मूल्य घट्ने आशा निराशमा परिणत भएको छ। 

विज्ञहरुका अनुसार गहुँको भाउ अझै बढ्न सक्छ। वर्षको अन्त्यसम्ममा गहुँ भारु ३ हजार प्रति क्विन्टलसम्म पुग्न सक्छ।

भारतमा गहुँको मूल्य प्रतिक्विन्टल भारु २ हजार ३०० पुगेपछि गत १३ मेमा केन्द्रले गहुँ निकासीमा रोक लगाएको थियो। निकासी रोक्नुको मुख्य उद्देश्य गहुँको मूल्य घटाउने थियो। यो निर्णयलगत्तै गहुँको भाउ ४ देखि ८ प्रतिशतले घटे पनि यो सातादेखि फेरि मूल्य बढ्न थालेको छ। निर्यात प्रतिबन्धको दिनमा अहिले गहुँको मूल्य प्रतिक्विन्टल १५ देखि ७५ रुपैयाँ तल रहेको छ।

वेयर हाउसिङ तथा एग्रिफिन्टेक कम्पनी ओरिगो ई–मन्डीका एजीएम (कमोडिटी रिसर्च) तरुण सत्संगीले गहुँको मूल्यमा आएको कमी लामो समय नरहने बताए। यस वर्ष गहुँ उत्पादनमा कमी आएपछि सरकारी स्टक ४२ प्रतिशतले घटेको छ। गत वर्षको तुलनामा खुला बजार बिक्री योजनाअन्तर्गत सरकारी गहुँको बिक्रीमा पनि कमी आउनेछ। यस्तो अवस्थामा खुला बजारमा गहुँको माग कायम रहनेछ।

भारतका अधिकांश मण्डीमा गहुँको व्यापार झन्डै ठप्प भएको छ। चर्को मूल्यमा गहुँ किनेका व्यापारीले घाटामा बिक्री गर्दैनन्। यस्तो अवस्थामा माग र आपूर्तिको समीकरण खस्किँदा गहुँको मूल्य बढ्न थाल्छ।

सत्सांगीका अनुसार नयाँ आपूर्ति हुनुअघि गहुँको मूल्य प्रतिक्विन्टल भारु ३ हजार माथि पुग्न सक्छ। – एजेन्सी