काठमाण्डौ । चालु आर्थिक वर्ष २०७८/७९ को ८ महिनामै निर्यात व्यापारमा नयाँ कीर्तिमान बनेको छ। 

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार नेपालको इतिहासमै सबैभन्दा धेरै रकमबराबरको निर्यात व्यापार भएको हो। चालु आर्थिक वर्षको फागुन मसान्तसम्म नेपालले १ खर्ब ४७ अर्ब ७४ करोड रुपैयाँबराबरको निर्यात गर्न सफल भएको छ। जब कि गत आर्थिक वर्ष २०७७/७८ भरि कुल निर्यात १ खर्ब ४१ अर्ब १२ करोड रुपैयाँबराबरको थियो।

चालु आर्थिक वर्षको फागुन महिनासम्म कुल वस्तु आयात १३ खर्ब ८ अर्ब ७३ करोड रुपैयाँबराबरको भएको छ। गत आर्थि वर्षको यही अवधिसम्म ९ खर्ब ४३ अर्ब रुपैयाँबराबरको वस्तु आयात भएको थियो।

आयात नियन्त्रण गर्न अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकले कडाइ सुरु गरेपछि फागुनमा आयातमा अघिल्लो महिनाको तुलनामा केही घटेको छ। गत माघ महिनासम्म आयात ४२.७८ प्रतिशतले बढेकोमा फागुनमा आइपुग्दा ३८.६४ प्रतिशतमा झरेको छ।

चालु आर्थिक वर्षको आठ महिनामा कुल वैदेशिक व्यापारको आकार १४ खर्ब ५६ अर्ब ४८ करोड रुपैयाँ पुगेको छ। यो गत आवको यसै अवधिको तुलनामा ४२.१३ प्रतिशत बढी हो। गत आवमा कुल वैदेशिक व्यापारको आकार १० खर्ब २४ अर्ब ७६ करोड रुपैयाँमात्र रहेको थियो।

फागुनसम्म व्यापार घाटा बढेर ११ खर्ब ६० अर्ब ९८ करोड पुगेको छ। फागुनसम्म व्यापार घाटा ३४.५० प्रतिशतले बढेको छ। गत वर्ष यही अवधिमा व्यापार घाटा ८ खर्ब ६३ अर्ब रुपैयाँ रहेको थियो।