काठमाण्डौ । धितोपत्र दलाल व्यवसायीहरुको छाता संगठन स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालले लगानीकर्ताहरुको आन्दोलनप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै कारोबार गर्ने वातावरण मिलाइदिन सरोकारवाला निकायहरुसँग माग गरेको छ। 

एसोसिएसन एक विज्ञप्ति जारी गर्दै नेपाल सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्ने विधेयकका केही दफाहरुलाई लिएर पुँजीबजारका केही लगानीकर्ताहरु आन्दोलित भएकोप्रति एसोसिएसनको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। ‘लगानीकर्ताहरुको समूह विभिन्न धितोपत्र दलाल व्यवसायीहरुको कार्यालयहरुमा आई कार्यालय बन्द गराउँदै हिँडेका तथा आइतबारदेखि आन्दोलनका मागहरु पूरा नभएसम्म दोस्रो बजार कारोबार बन्द नगरेमा जस्तोसुकै क्षति हुनसक्ने र उक्त क्षतिको जिम्मेवारी स्वयं व्यवसायीले नै लिनुपर्ने चेतावनीसमेत दिएकोप्रति पनि एसोसिएसनको गम्भीर ध्यानाकर्षण भएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘लगानीकर्ताहरुबाट आएको धम्की तथा चेतावनीका कारण आगामी दिनहरुमा निर्वाध रुपमा कार्यालय खोली व्यवसाय र कारोबार सञ्चालन गर्न व्यवसायीहरुले असहज तथा कर्मचारीहरुले असुरक्षित महसुस गरेकोप्रति सम्पूर्ण सरोकारवालाको ध्यानाकर्षण गराउन चाहन्छौँ।’

आगामी दिनमा निर्वाध रुपमा कार्यालय र कारोबार सञ्चालन गर्ने वातावरण मिलाइदिन एसोसिएसनले नेपाल सरकार, अर्थ मन्त्रालय, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्जलगायत अन्य सम्पूर्ण सरोकारवालाहरुसँग अनुरोध गरेको छ। ‘अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको पुँजीबजारले सूचनाका आधारमा प्रतिक्रिया गर्ने भएकोले पुँजीबजारको संवेदनशीलता, बजारको सन्तुलित विकास, लगानीकर्ताहरुको आत्मविश्वास तथा समग्र लगानीको वातावरणमा पार्ने दीर्घकालीन प्रभाव आदि पक्षलाई समेत ध्यानमा राखी पुँजीबजारसम्बन्धी कुनै पनि नीति–नियम तर्जुमा गर्दा सरोकारवाला सबै पक्षहरुसँग गहन छलफल गरी स्थिर र स्पष्ट नीति–नियम निर्माण गर्ने अभ्यासको थालनी गरिदिन पनि सम्बद्ध सम्पूर्ण सरोकारवालालाई अनुरोध गर्दछौँ’, विज्ञप्तिमा भनिएको छ। 

उता करको विषयमा आन्दोलन लगानीकर्ताले भने आज ब्रोकर कार्यालय र टीएमएस बन्द गर्नका लागि टोली नै परिचालन गर्ने भएका छन्।