काठमाण्डौ । नेपाल राष्ट्र बैंकका निलम्बित गभर्नर महाप्रसाद अधिकारीले पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा दिएको रिटमाथि आजबाट सुनुवाइ सुरु हुँदैछ।

सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासमा आज पहिलो सुनुवाइ हुनेछ। 

सरकारले कानुनविपरीत आफूलाई निलम्बन गरेको भन्दै अधिकारीले गत आइतबार सर्वोच्चमा रिट दायर गरेका थिए। गत चैत २५ गते सरकारले आफूलाई गभर्नर पदबाट निलम्बन गरेपछि त्यसविरुद्ध उनी सर्वोच्च अदालत गएका हुन्।

रिटमा अधिकारीले आफूमाथि गरिएको कारबाही बदर गरी गभर्नरको जिम्मेवारीमा फर्किन अन्तरिम आदेश माग गरेका छन्। 

अधिकारीको पक्षमा वरिष्ठ अधिवक्ताहरु राधेश्याम अधिकारी, हरिहर दाहाल, शम्भु थापा, टीकाराम भट्टराई, तुलसी भट्ट, सुशील पन्त, सतिशकृष्ण खरेल, सुरेन्द्र थापा, हरि उप्रेती र कृष्णप्रसाद भण्डारीले बहस गर्नेछन्।