काभ्रे । साना तथा मझौला व्यवसायीहरुले नीति–नियमको अभावले गर्दा यो व्यवसाय अगाडि बढाउन समस्या भएको बताएका छन्। 

नेपाल साना तथा मझौला व्यवसायी महासंघ काभ्रे जिल्ला संघको समिति गठन तथा घोषणा कर्यक्रममा व्यवसायीहरुले त्यस्तो धारणा राखेका हुन्। 

कार्यक्रमका प्रमुख अतिथि काभ्रेका प्रदेश सांसद् कञ्चनचन्द्र बादे श्रेष्ठले नीति–नियम प्रस्ट नहुनु, संघीय, प्रदेश तथा स्थानीय तहमा राम्रोसँग संयोजन तथा तीनै तहका सरकारको भूमिका प्रष्ट नभएको कारणले यो क्षेत्रले दुःख पाएको धारणा राखे। अर्थतन्त्रमा यो क्षेत्रको धेरै महत्व हुँदाहुँदै पनि विभिन्न समस्याले गर्दा ओझेलमा परेको उनले स्वीकारे। 

श्रेष्ठले यसरी साना–साना पँुजी लगानी गरेर माथि उठ्न खोजेका यस्ता ब्यबसायीहरुलाई नेपाल सरकारले राम्रोसँग सहजीकरण गरेर अगाडि बढ्नुपर्ने आजका टड्कारो आवश्कता भएको सुझाव दिए। उनले काभ्रे जिल्लामा साना तथा मझौला व्यवसायको ठूलो सम्भावना रहेको साथै यस क्षेत्रले अर्थतन्त्र मजबुत बनाउन धेरै भूमिका खेल्ने हुँदा साना तथा मझौला व्यवसायी महासंघ काभ्रे जिल्ला शाखा राम्रो सँग अगाडि बढोस् भन्ने शुभकामना दिए। 

कार्यक्रममा महासंघका केन्द्रीय महासचिव डा गोपालप्रसाद तिवारीले एसएमईबारे कार्यपत्र प्रस्तुत गर्दै यस क्षेत्रले आर्थिक वृद्धिमा ठूलो टेवा पुर्याउने भए पनि नेपालको एसएमई क्षेत्रले अरु देशमा जस्तो अगाडि बढ्न नसकेको बताए। ‘लघु, घरेलु, साना तथा मझौला व्यवसायहरुले आधुनिक तरिकाले व्यवसाय सञ्चालन गर्न सकेका छैनन्’, उनले भने, ‘यसमा धेरै समस्य भएको छ। उद्योगीले गुणस्तर उत्पादन गर्न सकेका छैनन्। बजार पनि राम्रो पाएका छैनन्, वित्तीय स्रोत परिचालन पनि हुन सकेको छैन। सरकारले सहयोग गर्न नसकेका कारणले यो क्षेत्रले जतिसुकै अर्थतन्त्रमा योगदान दिए पनि समस्याले ग्रसित भएको छ।’

महासंघका सहअध्यक्ष धर्मनन्द श्रेष्ठले यस क्षेत्रलाई दिगो रुपमा सञ्चालन गर्न सरकारले सहयोग नगरेको आरोप लगाए। उनले बैंक तथा वित्तीय संस्थाबाट यस क्षेत्रलाई सहज रुपमा ऋण उपलब्ध गराउनुपर्नेमा जोड दिँदै साना तथा मझौला व्यवसायीहरुले भोगेका समस्यालाई समाधान गर्न सरकारसँग माग गरे।