– अनन्त्य सुन्दर

काठमाण्डौ । बजेट नीतिविपरीत नयाँ दरबन्दी थप्न माग गर्दै नेपाल धितोपत्र बोर्ड (सेबोन)ले अर्थ मन्त्रालयमा पत्राचार गरेको खुलासा भएको छ। 

अर्थ मन्त्रालयका एक सचिवले एकजना कार्यकारी निर्देशक र पाँचजना दोस्रो तहको दरबन्दी थप्नका लागि सेबोनबाट अघिल्लो शुक्रबारै मन्त्रालयमा पत्र आएको बताए। ‘सेबोन सञ्चालक समितिबाट निर्णय भएर नयाँ दरबन्दी थप्नका लागि पत्र आएको छ’, ती सचिव भन्छन्, ‘मन्त्रालयमा उक्त विषयमा कुनै किसिमको औपचारिक छलफल भएको छैन। तर चालु आर्थिक वर्षको बजेटमा कर्मचारी थप्नेभन्दा पनि कटौती गर्ने नीति भएकाले मन्त्रालय सकारात्मक नभएको देखिन्छ।’

आर्थिक वर्ष २०७९–८० को बजेटको ‘प्रशासनिक खर्चमा कटौती’ शीर्षकको ३७९ नम्बर बुँदामा सरकारी निकायका संगठन संरचना र दरबन्दीको पुनरावलोकन गरिनुका साथै १० प्रतिशत निजामती सेवा तथा अन्य सरकारी सेवाको दरबन्दी कटौती गर्ने उल्लेख छ। त्यसका साथै उक्त बुँदामा निजामती तथा सुरक्षा निकायमा प्राविधिक र अत्यावश्यकबाहेकका नयाँ दरबन्दी थप नगरिने स्पष्ट उल्लेख छ। तर सेबोनले बजेट नीतिविपरीत दरबन्दी थप्नका लागि सञ्चालक समितिबाट निर्णय गरी मन्त्रालयमा पत्राचार गरेको छ।  

सेबोनका एक अधिकारीका अनुसार अध्यक्ष रमेशकुमार हमालले आवश्यक प्रकिया नै पूरा नगरी उक्त निर्णय सेबोन सञ्चालक समितिबाट पारित गरेर मन्त्रालयमा पठाएका हुन्। ‘नयाँ दरबन्दी थप्नेबारे सम्बन्धित विभागहरुलाई पनि जानकारी गराइएको छैन। त्यस्ता किसिमका निर्णयहरु गर्दा टिप्पणी राखिनुका साथै छलफल, अध्ययन र परामर्श गर्न उत्तिकै आवश्यक छ’, ती अधिकारीले भने, ‘तर, सेबोन अध्यक्ष हमालले संस्थाको प्रोटोकललाई नै बाइपास गरेर निर्णय गरी मन्त्रालय पठाउनु भएको पाइयो।’

आफूनिकट एक उच्च कर्मचारीलाई कार्यकारी निर्देशक बनाउनकै लागि सेबोनको प्रोटोकललाई नै बाइपास गरेर अध्यक्ष हमालले गुपचुप बजेट नीतिविपरीत निर्णय गरेर दरबन्दी थप्नका लागि मन्त्रालयमा पत्र पठाएको ती अधिकारीको दाबी छ। 

ती उच्च तहका कर्मचारी हमालको कार्यकाल सकिएपछि आफूले अध्यक्षमा दाबेदारी दिने योजनामा छन्। ‘कार्यकारी निर्देशक भएमा अध्यक्ष दाबेदारीका लागि थप योग्य भन्ने आशाले उनले अध्यक्ष हमाललाई प्रेसर दिइरहेका छन्’, ती अधिकारीले भने।