काठमाण्डौ । नेपाल निर्यात परिषद्ले सरकारले नीति तथा कार्यक्रममा समावेश गरेका कार्यक्रमहरु आगामी बजेटमार्फत कार्यान्वयनमा ल्याउनेमा आशा व्यक्त गरेको छ। 

परिषद्ले आज आफ्नो धारणा सार्वजनिक गर्दै नीति तथा कार्यक्रमको सकारात्मक पक्ष रहेको उल्लेख गरेको छ। नेपालको निर्यात प्रवर्द्धनका लागि सरकारका तर्फबाट पेस गरिएको नीति तथा कार्यक्रममा समावेश गरिएका कार्यक्रमलाई आगामी बजेटले प्रस्ट व्याख्याका साथ आवश्यक बजेट रकम विनियोजन गरी कार्यान्वयनमा ल्याउनेमा परिषद् आशावादी रहेको छ। 

संघीय संसदमा मंगलबार सरकारले नीति तथा कार्यक्रम सार्वजनिक गरेको थियो। नीति तथा कार्यक्रममा उद्योगमैत्री वातावरणको निर्माण गरी व्यवसाय गर्ने वातावरणमा सुधार, आधारभूत पूर्वाधारमा सरकार लगानी बढाई निजी क्षेत्रलाई उत्पादनमूलक उद्योग स्थापना र संञ्चालनमा प्रोत्साहन गर्ने उल्लेख छ। 

त्यस्तै आन्तरिक र वैदेशिक लगानीमा वृद्धि, नेपाली उत्पादनको बजार विस्तार गरी आयात प्रतिस्थापन तथा निर्यात प्रवर्द्धन गरी समुन्नत अर्थतन्त्रको विकास, नेपाली उतपादन तथा उपभोग अभिवृद्धि कार्यक्रमको सञचालन गरी ती कार्यक्रमका लागि कर तथा भन्सार महसुलमा छुट दिने घोषणा पनि सरकारले गरेको छ। 

निर्यात अनुदानमार्फत समयबद्ध रणनीतिक प्रवर्द्धन, प्रतिस्पर्धी सीप विकास गरी व्यावसायिक सहजीकरण, औद्योगिक पूर्वाधार निर्माणमा निजी क्षेत्रको संलग्नता, औद्योगिक ग्राम, ओद्योगिक  क्षेत्र, विशेष आर्थिक क्षेत्र तथा अन्तरदेशीय आर्थिक क्षेत्रसम्म विद्युत, सडक र पानीजस्ता आधारभूत सुविधा सरकारले उपलब्ध गराई औद्योगिक क्षेत्रभित्रका पूर्वाधार निर्माण सञ्चालन र व्यवस्थापन निजी क्षेत्रबाट गराउने नीति पनि समावेश गरिएको छ।