काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेडले काठमाण्डौको चाबहिलस्थित ॐ हस्पिटल एन्ड रिसर्च सेन्टर प्रालि र यशोदादेवी भगवानसिंह केसी मेमोरियल ट्रष्टसंगको सहकार्यमा शनिबार (जेठ २० गते) नुवाकोटको बेलकोटगढी नगरपालिका–२ फाँटापौवास्थित जनजागरण सामुदायिक पुस्तकायल स्रोत केन्द्रमा एकदिने निःशुल्क स्वस्थ्य शिविर कार्यक्रम सम्पन्न गरेको छ। 

बेलकोटगढी–२ का वडाध्यक्ष रामचन्द्र तिमल्सिनाको अध्यक्षता रहेको कार्यक्रममा प्रमुख अतिथिका रुपमा नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसी र विशिष्ट अतिथिमा ॐ हस्पिटल एन्ड रिसर्च सेन्टर प्रालिका अध्यक्ष डा. आनन्तप्रसाद श्रेष्ठ, बेलकोटगढी नगरपालिका मेयर जगतबहादुर लामा, यशोदादेवी भगवानसिंह केसी मेमोरियल ट्रस्टका अध्यक्ष डा. केदार नरसिंह केसी र गरिमा विकास बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकाल र नायब प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद उपाध्यायको उपस्थिति थियो। 

स्वास्थ्य शिविरमा ॐ हस्पिटल एन्ड रिसर्च सेन्टर प्रालिका स्वास्थ्यकर्मीहरुद्वारा सामान्य स्वस्थ्य चिकित्सा, पाठेघरको क्यान्सर, दन्त चिकित्सा, नाक, कान र घाँटी, हाड जोर्नी, स्त्रीरोग, चर्मरोग, मुटुरोग, मनोरोगलगायत रोगहरुको परीक्षण एव भिडियो एक्सरे र ईसीजीलगायतका सेवाहरु प्रदान गरिएको थियो। 

शिविरमा करिब ७०० जनको निःशुल्क स्वस्थ्य परीक्षण गरिएको थियो। 

कार्यक्रममा गरिमा विकास बैंकका नायब प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद उपाध्यायले बृहत निःशुल्क स्वास्थ्य शिविरबाट थुप्रै स्थानीय लाभान्वित भएको र आगामी दिनमा समेत यस्ता मानवीय कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे। 

काठमाण्डौको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंकले देशभर १२१ शाखा कार्यालय र ५० वटा एटीएममार्फत ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ।