काठमाण्डौ । नेको इन्सुरेन्स लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म १ अर्ब ६३ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ।

आज सार्वजनिक चौथो त्रैमास वित्तीय विवरणअनुसार समीक्षा अवधिको यो खुद बीमा शुल्क अघिल्लो वर्षको सोही अवधिको तुलनामा २८.५३ प्रतिशतले बढी हो। अघिल्लो वर्ष कम्पनीले बीमा शुल्क आर्जन १ अर्ब २७ करोड रुपैयाँमा सीमित थियो। 

समीक्षा अवधिसम्ममा कम्पनीले लगानी, कर्जा तथा अन्यबाट हुने आयबापत १५ करोड ७५ लाख रुपैयाँ आर्जन गरेको छ। अघिल्लो वर्ष यस्तो आय १२ करोड ८७ ला रुपैयाँमात्र थियो। पुनर्बीमा कमिसन आय भने २५ करोड २० लाख रुपैयाँबाट घटेर २० करोड ३० लाख रुपैयाँमा सीमित बनेको छ।

यो अवधिमा कम्पनीले ६२ करोड रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ। अघिल्लो वर्ष कम्पनीले ४९ करोड ३० लाख करोड रुपैयाँ दाबी भुक्तानी गरेको थियो। खुद दाबी भुक्तानी २५.७७ प्रतिशतले बढेको छ।

समीक्षा अवधिमा कम्पनीको नाफा १५.४९ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष ४६ करोड ८० लाख रुपैयाँ नाफा गरेको कम्पनीले समीक्षा अवधिमा ५४ करोड ६ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। 

कम्पनीको व्यवस्थापन खर्च ४.३५ प्रतिशतले वृद्धि भएर ३४ करोड ४५ रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष व्यवस्थापन खर्च ३३ करोड १ लाख रुपैयाँमा सीमित थियो।

समीक्षा अवधिमा कम्पनीको बीमा कोषको आकार ३१.९१ प्रतिशतले बढेर १ अर्ब ११ करोड रुपैयाँको भएको छ। अघिल्लो वर्ष जीवन बीमा कोषमा ८४ करोड ७० लाख रुपैयाँ रहेको थियो। ४१ करोड ९९ लाख रुपैयाँ रहेको कम्पनीको जगेडा तथा कोषको आकार ६६.८२ प्रतिशतले बढेर ७० करोड ५ लाख रुपैयाँमा सीमित बनेको छ। 

समीक्षा अवधिसम्म कम्पनीको जारी बीमालेखको संख्या ३ लाख २ हजार ७१२ रहेको छ। अघिल्लो वर्ष जारी बीमालेखको संख्या २ लाख ४८ हजार २०६ रहेको थियो।

चुक्तापुँजी १ अर्ब ३१ करोड रुपैयाँ रहेको कम्पनीको वार्षिकीकरण प्रतिसेयर आम्दानी (ईपीएस) ४१.०४ रुपैयाँ, पीई अनुपात ३२.८५ गुणा र प्रतिसेयर नेटवर्थ २४३.३४ रुपैयाँ रहेको छ।