काठमाण्डौ । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाललाई थप उपचारका लागि दिल्ली लगिएको छ । 

थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत उनलाई परिवारको निर्णयअनुसार दिल्लीको अपोलो अस्पताल लगिएको हो । 

नर्भिक अस्पतालबाट डिस्चार्ज भएर दिल्ली जाने क्रममा नेता खनाल निरन्तर काँपिरहेका थिए । शरीर निकै थिलथिलो बनेको थियो । उनमा खोकीको समस्या समेत निरन्तर देखिएको थियो । 

एयरपोर्ट पुग्नुअघि नर्भिक अस्पतालको विशेष एम्बूलेन्समा राखिएका उनले विदा गर्न भेला भएका शुभेच्छुक र आफन्तलाई लाल सलाम गरेका थिए ।

सुतेकै अवस्थामा मुठी दह्रो बनाएर सबैलाई अभिवादन गर्दै आफू उपचारपछि छिट्टै फर्किने वाचासहित उनी एयरपोर्टतर्फ लागेका थिए ।

नेता खनाल साढे १२ बजेको नेपाल एयरलाइन्सको फ्लाइटबाट दिल्ली गएका छन् । 

नर्भिक अस्पतालमा रहँदा उनको अवस्था स्थिर रहेको अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

लगातार ज्वरो आएसँगै सास फेर्न गाह्रो भएपछि उनलाई २ दिनअघि नर्भिक अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो । 
त्यसपछि नर्भिकको विशेष वार्डमा राखेर उनको उपचार जारी राखिएको थियो । 

उपचारमा संलग्न चिकित्सहरुकाअनुसार उनको फोक्सोमा पानी जमेको देखिएको थियो । फोक्सोमा पानी जमेका कारण अक्सिजनको कमी देखिएको थियो । उनलाई निरन्तर अक्सिजनकै सपोर्टमा राखिएको थियो । 

उनमा ज्वरो उल्लेख्य घट्न सकेको थिएन । पिसाब तथा रगतमा समेत इन्फेक्सन देखिएको थियो । 

उनलाई मंगलबार एक पिन्ट रगत समेत दिइएको थियो । हेमोग्लोबिनको मात्रा कमी देखिएपछि रगत चढाइएको थियो । २ पिन्ट रगत चढाउने योजना बनेको भए पनि शरीरले सपोर्ट नगरेपछि एक पिन्ट मात्र रगत चढाइएको थियो । 

चिकित्सकहरुले कोभिड हुँदा उहाँलाई निमोनियाको समस्या देखिएको र सो समस्या फेरि बल्झिएको समेत आशंका गरेका छन् । 

नेता खनालमा मृगौलाको समस्याबाट हुने लक्षण र कोभिडपछि देखिने लक्षणहरु देखिएको उपचारमा संलग्न चेस्ट फिजिसियन डा. ब्रजेन्द्र श्रीवास्तवले बताएका छन् । 

डा. श्रीवास्तवका अनुसार खनालको रगत र पिसाबमा समेत इन्फेक्सन देखिएको थियो ।