काठमाण्डौ । समाज र राष्ट्रलाई सहयोग पुर्याउने आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत अझ एक कदम अगाडि बढ्दै हिमालय एअरलाइन्सले आज बिहान अफगानिस्तानको काबुलतर्फ आफ्नो पहिलो निःशुुल्क कार्गो उडान भरेको छ।

नेपाल सरकार, परराष्ट्र मन्त्रालयको अनुरोधमा अन्दाजी ९.७ टन (९७१५ केजी) राहत सामग्री बोक्दै हिमालयले अन्दाजी १० हजार ८५० डलर अर्थात रु. १.३ करोडबराबरको योगदान पुर्याएको छ। उक्त कार्यका लागि हिमालयको एअरबस 319-115 9N AJK आज बिहान ९ः१७ बजे काबुलतर्फ उडेको हो। 

जहाजमा अत्यावश्यकीय राहत सामग्री जस्तै– औषधि, खाद्यान्न, लत्ताकपडा, ब्लाङ्केटलगायत थिए। जहाजमा गएको १५ सदस्यीय टोलीमा परराष्ट्र मन्त्रालयका पदाधिकारी, विभिन्न संघसंस्थाका प्रतिनिधि, सञ्चार क्षेत्रका प्रतिनिधि र अवैतनिक वाणिज्य दूतहरू छन्।

काबुल उडान भर्नुपूर्व त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री डा. नारायण खड्काले मित्र राष्ट्र अफगानिस्तानलाई आइपरेको मानवीय समस्यामा नेपाली जनताका तर्फबाट सहयोगी हात बढाउनु नेपाल सरकारको नैतिक जिम्मेवारी भएको स्पष्ट पारे। यस पुनित कार्यले अन्तर्राष्ट्रिय जगतमा नेपालको छवि उजागर गर्ने विश्वास समेत उनले व्यक्त गरे। 

यसका साथै यसखाले महान मानवीय कार्यमा पूर्णतया निःशुल्क कार्गो उडानमार्फत सहयोग पुर्याएकोमा हिमालय एअरलाइन्सलाई मन्त्री खड्काले विशेष धन्यवाद पनि दिए। 

कार्यक्रमकै क्रममा उडान काबुलतर्फ प्रस्थान गर्नुपूर्व हिमालय एअरलाइन्सका अध्यक्ष झोउ एन्योङले नेपाल सरकारद्वारा अफगानी जनताका लागि मानवीय सेवा पुर्याउने पवित्र उद्देश्यका साथ यसखाले परोपकारी उडान गर्न आफूहरुलाई अनुरोध भई आउनु वास्तवमा अत्यन्तै ठूलो सम्मानको विषय भएको बताए। 

सोही क्रममा एअरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले आफू भौगोलिक सीमा र दूरीको परवाह नगरी विपद्मा अफगानी जनताका साथ उभिन पाउँदा अत्यन्तै हर्षित भएको बताए। उनले भविष्यमा पनि यस्ता सम्भाव्य मानवीय सहयोग पुर्याउने कार्यमा नेपाल सरकारका साथ उभिन सदैव तत्पर रहने प्रतिबद्धता दोहोर्याए। 

हिमालयको उडान H9 5931 काबुल अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समयअनुसार ११ः०८ बजे अवतरण गरेको थियो। उक्त अन्तर्राष्ट्रिय विमानस्थलमा अवस्थित संयुक्त राष्ट्रसंघको सहयोगी निकायको कक्षमा उपरोक्त राहत सामग्री हस्तान्तरण गरिएको छ। 
त्यसपछि जहाज आजै अपराह्न ५ः१२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ।