काठमाण्डौ । नेपालमा रहेको अथाहा तामाखानीको उत्खनन्मा सहकार्य गर्न चिनियाँ व्यापारीहरुले चासो देखाएका छन् । उनीहरुले नेपाल चाइना चेम्बर अफ कमर्स एण्ड इण्डष्टी तथा चेम्बर अफ कमर्सका अधिकारीहरुसँग सो बिषयको सूचना आदानप्रदान तथा लगानीमा सहकार्य गर्ने गरी शुक्रबार एक सम्झौतापत्रमै हस्ताक्षर गरेका छन् । 

नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष राजेन्द्र मल्लका अनुसार चीनको गान्सू प्रान्तबाट त्यहाँका व्यापारीहरुको संगठन कमिसन अफ इण्डस्ट्री एण्ड इनफरमेसन टेक्नोलोजीका उप–निर्देशक झाङ फुकुईको नेतृत्वमा नेपाल भ्रमणमा आएको प्रतिनिधि मण्डलले खानी उत्खनन्मा लगानी गर्ने चासो व्यक्त गरेको हो । 'यहाँको अथाहा खानीको उत्खनन्मा लगानी गर्ने र नेपालको हित हुने गरी काम गर्ने गरी उनीहरुले सहमति समेत जनाएका छन् ।' उपाध्यक्ष मल्लले भने-'चिनियाँ लगानीकर्ताले नेपालको अथाहा संभावनाको क्षेत्रमा लगानीमा चासो देखाउनु सुखद क्षण हो ।' 

यसैबीच, झाङ फुकुईको नेतृत्वमा नेपाल भ्रमणमा आएको १३ सदस्यीय व्यापारिक टोलीको सम्मानमा नेपाल चाइना चेम्बर अफ कमर्स एण्ड इण्डष्टीले शुक्रबार एक कार्यक्रम समेत आयोजना गर्यो । कार्यक्रममा दुई देश बीच लगानी, आर्थिक, व्यापारिक तथा पर्यटन विस्तार गर्ने सम्बन्धमा पनि छलफल भएको थियो  । 

सो अवसरमा नेपाल–चाइना व्यापार संघका अध्यक्ष राजेशकाजी श्रेष्ठले दुई देशबीचको सुमधुर सम्बन्धको चर्चा गर्दै आपसी लगानी बृद्धि, आर्थिक व्यापारिक सम्बन्ध विस्तारका लागि अग्रसर हुनुपर्नेमा जोड दिएका थिए । नेपालमा जलविद्युत, पर्यटन, कृषिजन्य उत्पादन, सिमेन्ट, निर्माण, जडिबुटी क्षेत्रमा लगानी गर्न उलने चिनको लगानीकर्तालाई आग्रह गरे । गान्सु प्रान्तमा हुने व्यापार मेलाहरुमा नेपाली व्यवासयीहरु भाग लिन इच्छुक रहेका र गान्सु शहरमा नेपाली उत्पादनहरु प्रवद्र्धनका लागि सहयोग गर्न समेत उनले अनुरोध गरे । 

चिनियाँ टोलीको नेतृत्व गर्दै नेपाल आएका उपनिर्देशक झाङ फुकुईले नेपाली व्यवसायीहरुसंग द्विपक्षीय व्यापार तथा लगानी प्रवद्र्धन गर्ने जस्तो महत्वपूर्ण विषयमा छलफल गर्न पाएकोमा खुशी व्यक्त गरेका थिए । गान्सुको लान्जाउबाट सिगात्से सम्म रेल आइपुगेको हुँदा यसबाट दुई देश बीचको व्यापार तथा सम्बन्ध अझ विस्तार हुने उनको भनाई थियो । कार्यक्रममा नेपाल लगानी वोर्डको तर्फबाट नेपालमा लगानीका सम्भावना बारे प्रस्तुती दिइएको थियो । 

सो अवसरमा द्विपक्षीय लगानीका लागि विभिन्न ६ वटा चिनियाँ कम्पनीसँग यहाँका व्यवसायीको समझदारीपत्रमा हस्ताक्षर समेत भएको छ ।