– अर्जुन तिमिल्सिना

काठामाण्डौ । देशमा होस अथवा विदेशमा बस्ने हरेक नेपालीलाई अहिले सेयरको मोहले रामै्र आकर्षण गरेको पाइन्छ।

विदेशमा कमाएको पैसालाई स्वदेशमा लगानी गर्दा देशलाई पनि योगदान हुने तथा आफूलाई पनि कमाइ हुने गैरआवासीय नेपाली (एनआरएन) हरुको बुझाइ छ। तर नेपालमा लगानीको झन्झटिलो व्यवस्था तथा एनआरएनलाई लगानी गर्ने प्रस्ट कानुन नहुनु तथा लगानीका लागि नेपाली नागरिकता नै आवश्यकता पर्ने हुँदा चाहेर पनि विदेशमा बस्ने नेपालीले नेपालको सेयर बजारमा लगानी गर्न सकिरहेका छैनन्। 

यस्तै झन्झटिलो व्यवस्थाले धेरैजसो गैरआवासीय नेपालीहरुले आफू बसेकै देशमा लगानी गर्न थालेको पनि भेटिएको छ। अस्ट्रेलियामा बस्ने यादव पौडेलले भने, ‘यहाँ सेयरको रुचि राख्ने धेरै छन् र उनीहरुमध्ये धेरैजसोले यतै कारोबार गर्ने गरेका छन्।’

त्यसैगरी बेलायतमा बस्ने प्रेम पौडेलले नेपालमा रहेका आफ्ना साथीभाइसँग त्यहाँको सेयर बजारका बारेमा जिज्ञासा राख्ने गरेको बताए। ‘म पनि नेपालको सेयर बजारमा लगानी गर्न चाहन्छु’, उनले बिजशालासँग भने, ‘तर भौतिक रुपमै उपस्थित हुनुपर्ने र झन्झटिलो प्रक्रियाले असहज भइरहेको छ।’

एक अध्ययनका अनुसार खाडीलगायत दक्षिण कोरियाबाट नेपालको सेयर बजारमा लगानी गर्नेको जमात राम्रै रहेको पाइन्छ।

अमेरिकामा पनि विभिन्न स्टेटमा बस्ने थुप्रै नेपालीले यो विषयमा जिज्ञासा राखेको त्यहाँनिवासी बबी पराजुलीले बताए। 

नेपाल धितोपत्र बोर्डका नायब कार्यकारी निर्देशक रुपेश केसीले एनआरएनलाई सेयर बजारमा भित्र्याउने विषय हाल अध्ययनकै सिलसिलामा रहेको बताए। ‘एकजना विज्ञमार्फत विदेशमा बस्ने गैरआवासीय नेपालीले गरेको लगानी कसरी फिर्ता लैजाने भन्ने विषयमा अध्ययन भइराखेको छ’, उनले भने, ‘यसमा प्रस्ट भएपछि मात्रै एनआरएनलाई भित्र्याउने विषय टुंगो लाग्छ।’ 

बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले पनि गैरआवासी नेपालीलाई नेपालका ेसेयर बजारमा भित्र्याउन पहल भइरहेको बताए। ‘एनआरएन दुई खालका हुन्छन्’, उनले भने, ‘नेपाली नागरिक नभए पनि पोर्टफोलियो व्यवस्थापनका लागि एकथरीलाई भित्र्याउन सकिन्छ र दोस्रो भनेको नेपालीभाषी एनआरएनलाई पनि सेकेन्डरी बजारमा भित्र्याउने विषयमा हामीले विज्ञ टोलीमार्फत अध्ययन गरिरहेका छौँ।’

अध्यक्ष ढुंगानाले अध्ययन प्रतिवेदन १–२ हप्तामा आउने र यस विषयमा निर्णय गरिने बताए।