काठमाण्डौ । कोभिड–१९ को प्रभावसँगै विश्व बैंकले दक्षिण एसियाली राष्ट्रहरुको आर्थिक वृद्धि तथा बढ्नसक्ने प्रक्षेपण सार्वजनिक गरेको छ। 

विश्व बैंकले कोभिडको खोप विकास र वितरणले भएको सहज गतिविधिका कारण दक्षिण एसियाली मुलुकहरुको आर्थिक वृद्धि बढ्न सक्ने प्रक्षेपण गरेको हो। विश्व बैंकले बुधबार सार्वजनिक गरेको प्रक्षेपणअनुसार दक्षिण एसियाली मुलुकहरुमा ‘भी सेप’ को सुधार हुने प्रक्षेपण गरेको छ। 

आर्थिक बर्ष २०७६/७७ मा नेपालको आर्थिक वृद्धदर १.१९ प्रतिशतले नकारात्मक रहेको थियो। यसैबीच विश्व बैंकले तीव्रगतिको आर्थिक सुधारको प्रक्षेपण गर्दै नेपालको चालु आर्थिक वर्ष २०७७/७८ मा आर्थिक वृद्धिदर २.७ प्रतिशत हुने अनुमान गरेको छ। नेपाल सरकारले भने कोरोना महामारीबीच पनि ७ प्रतिशतको आर्थिक वृद्धि हासिल हुने आँकलन गरेको छ। 

विश्व बैंकले आर्थिक वर्ष २०७८/७९ मा नेपालको आर्थिक वृद्धिदर १.४ प्रतिशतमात्रै आँकलन गरेकोमा त्यसलाई संशोधन गर्दै ३.९ प्रतिशतसम्म रहने प्रक्षेपण गरेको छ। आव २०७९÷८० मा भने नेपालले ५.१ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्न सक्ने विश्व बैंकको अनुमान छ। 

नेपालको आर्थिक वृद्धिदर सकारात्मक अवस्थामा हुनु भनेको नेपालीहरुले पठाउने रेमिटयान्स मुख्य कारण रहेको विश्व बैंकले जनाएको छ। 

विश्व बैंकको प्रक्षेपणअनुसार चालु आर्थिक वर्षदेखि आगामी तीन वर्षसम्म भारतको आर्थिक वृद्धिदर ८.५ प्रतिशत ऋणात्मकबाट १०.१ प्रतिशतसम्म हुने प्रक्षेपण गरेको छ। त्यसपछिका दुई वर्षमा क्रमशः ५.८ प्रतिशत र ६.५ प्रतिशत आर्थिक वृद्धिदर कायम रहन सक्ने विश्व बैंकको अनुमान छ। 

नयाँ प्रक्षेपणअनुसार सन २०२१/२२ मा दक्षिण एसियाली मुलुकको समग्र आर्थिक वृद्धिदरमै सुधारको लहर आउनेछ। जसमा भारतको भूमिका अहम हुनेछ। 

विश्व बैंकका अनुसार कोरोनाले सिर्जना गरेको परिस्थतिले उत्पन्न चुनौतीहरु भने अहिले पनि कायम नै रहेको छ। दक्षिण एसियाली मुलुकहरुका करोडौँ मानिसको रोजगारीको गुमेको तथा आर्थिक गतिविधि पूर्ण रुपले आउन नसकोका कारण पर्यटन तथा होटल क्षेत्रमा अन्योल र अवरोध कायम नै रहेको विश्व बैंकको ठहर छ। 

पर्यटनमा आधारित माल्दिभ्सले सन् २०२०/२१ मा २८ प्रतिशत ऋणात्मक रहेको आर्थिक वृद्धिदर माल्दिभ्सको भने सन् २०२१/२२ मा १७.१ प्रतिशत रहने विश्व बैंकको प्रक्षेपण छ।