काठमाण्डौ । कोभिड–१९ महामारीबाट उत्थानशील पुनरुत्थान तथा अतिविपन्न र जोखिममा रहेकाहरूको संरक्षण एवं दिगो विकास हासिल गर्न नेपाललाई १७ अर्ब ७८ करोड रुपैयाँ (१५ करोड अमेरिकी डलर) बराबरको सहुलियत ऋण उपलब्ध गराउने भएको छ। 

सहुलित ऋणसम्बन्धी वित्तीय सम्झौतामा नेपाल सरकार र विश्व बैंकबीच आज हस्ताक्षर भएको छ । सम्झौतामा सरकारका तर्फबाट अर्थसचिव शिशिरकुमार ढुंगाना र माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद–जर्भोसले हस्ताक्षर गरेका छन्। 

अर्थसचिव ढुंगानाले यस सहयोगले कर र भन्सार प्रणाली, सार्वजनिक लगानी व्यवस्थापन, वातावरणीय नियमन र ऋण व्यवस्थापनलगायतका क्षेत्रमा थप सुधार गरी नेपाललाई थप मजबुत बनाउन र हरित पुनर्निर्माणमा टेवा पुर्यानउने बताए। उनले बजेटरी सहायता नेपालको आवश्यकता र प्राथमिकताका आधारमा भौतिक पूर्वाधार आयोजना तथा आर्थिक पुनरुत्थानका क्षेत्रमा परिचालन हुने  जानकारी दिए। 

अर्थ मन्त्रालय र विश्व बैंकका अनुसार आर्थिक बृद्धि, पुनरुत्थान तथा उत्थानशीलताका लागि विकास नीति सहयोग सम्बन्धित पहिलो चरणको सहयोगले अत्यन्त जोखिममा रहेकाहरूको संरक्षण तथा व्यवसाय वृद्धितर्फ लक्षित सुधारहरूलाई सघाउनेछ। यस क्षेत्रमा गरिने सुधारका कार्यक्रमहरूले सामाजिक सुरक्षा, अन्तर–सरकारी संरचना लगायत व्यवसायहरूको पूँजीमा पहुँच आदि विषयमा समेत विशेष ध्यान दिनेछ। यसले रोजगारी सिर्जना गर्ने, बजारलाई गतिशिल बनाउने र हरित पुनरुत्थानलाई सहयोग गर्ने प्रकृतिका चालू ठूला आकारका विकास आयोजनालाई गति दिन मद्दत गर्नेछ। सहयोग बजेटरी सहायताका रुपमा प्राप्त हुनेछ।

माल्दिभ्स, नेपाल तथा श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद–जर्भोसले कोभिड–१९ को महामारीका बेला तथा सोपश्चात पनि यस आयोजनाले नेपालमा दिगो वृद्धि हासिल गर्न सहयोग गर्ने र समावेशी, रोजगारी प्रवर्द्धक तथा पर्यावरणीय रूपमा दिगो हुने बताए। उनले भने, ‘कोभिड महामारीका समयमा मानिसको जीवन रक्षा तथा अर्थ–व्यवस्थाको पुनरुत्थान गर्नका लागि सरकारले ल्याएका कार्यक्रमहरूलाई सघाउन विश्व बैंक प्रतिबद्ध छ।’ 

यसैबीच उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडलसँग माल्दिभ्स, नेपाल तथा श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद–जर्भोसले भेट गरेका छन्। उनले नेपालमा कोभिड नियन्त्रण तथा न्यूनीकरण र उपचारका साथसाथै आर्थिक विकासलाई पनि जोड दिन आग्रह गरे। 

उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडलले कोभिडविरुद्धको लडाई र आर्थिक पुनर्स्थापनाका लागि नेपाल सही बाटोमा रहेको बताउँदै सो सन्देश विश्व बैंकको नेतृत्वसमक्ष पुर्याउन आग्रह गरेका थिए।