काठमाण्डौ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले नेपालको नवीकरणीय ऊर्जा क्षेत्रमा लगानी गर्न अपिल गरेकी छन्। 

युनाइटेड अरब इमिरेट्सको अबुधावीमा भइरहेको अन्तर्राष्ट्रिय नवीकरणीय ऊर्जासम्बन्धी संस्था (आइरिना)को १२ औँ सम्मेलनलाई आइतबार भुर्चुअल माध्यमबाट सम्बोधन गर्दै मन्त्री भुसालले नवीकरणीय ऊर्जा क्षेत्रमा सहकार्य गरेर आर्थिक लाभ लिन विश्व समुदायलाई आग्रह पनि गरिन्। ‘कम लागतमा उन्नत, स्वच्छ ऊर्जा उत्पादन बढाउनका लागि नेपाललाई वित्तीय तथा प्राविधिक सहयोग आवश्यक छ’, उनले भने, ‘जलवायु परिवर्तनका असर कम गर्न तथा अनुकूलताका लागि र समावेशीरूपमा ऊर्जा सुनिश्चिताका लागि पनि नवीकरणीय ऊर्जाको विकास गरिनुपर्छ।’

भौगोलिक बनावटका कारण नेपाल जलवायु परिवर्तनको उच्च जोखिममा रहेको र जलवायु परिर्वनको संवेदनशीलता जनजीवनमा उच्च रहेको भुसालले बताइन्। कम विकसित मुलुक नेपालले विगत र वर्तमानमा विश्वव्यापी कार्बन खपतमा महत्वपूर्ण योगदान गरेको उनले दाबी गरिन्। ‘हामीले १.५ डिग्री सेन्टिग्रेट तापक्रमको लक्ष्य पहिचान गरेका छौँ । विश्वका मुलुकहरुले पनि यो लक्ष्य प्राप्तिका लागि महत्वकांक्षी कदमहरु चाल्नुपर्नेछ’, उनले भनिन्। 

नवीकरणीय ऊर्जाका क्षेत्रमा विश्वसामु नेपालले दरिलो प्रतिबद्धता व्यक्त गर्दै आएको उल्लेख गर्दै मन्त्री भुसालले सन् १९९६ देखि यस क्षेत्रमा राज्यले वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र (एईपीसी) जस्तो छुट्टै निकाय स्थापना गरेर नवीयकरणीय ऊर्जा प्रवर्द्धनलाई विशेष प्राथमिकता दिएको स्पष्ट पारिन्। ‘हरित जलवायु कोषबाट आधुनिक, प्रभावकारी एवं जलवायुमैत्री स्वच्छ खाना पकाउने ऊर्जा प्रवर्द्धन लागि २१ मिलियन अमेरिकी डलर अनुदान स्वीकृत भएको छ’, उनले भनिन्। 

आगामी सन् २०४५ सम्म नेपाल शून्य कार्बन उत्सर्जन गर्ने मुलुकका रूपमा परिचिरत हुने गरी दीर्घकालीन लक्ष्य प्रस्तुत गरिएको मन्त्री भुसालले बताइन्। अन्तर्राष्टियस्तरमा पनि स्वच्छ ऊर्जा व्यापार गरेर कार्वन उत्सर्जन न्यूनीकरणमा योगदान गरेको उनले जानकारी दिइन्। ‘नेपालमा स्वच्छ ऊर्जाको खानी रहेका छन्’, उनले भने, ‘आर्थिक एवं प्राविधिक रूपमा नेपालमा ४२ हजार मेगावाट जलविद्युत् उत्पादनको  सम्भावना छ । यो नवीकरणीय ऊर्जा हो, वर्षमा ३०० दिन पारिलो हुने भएकाले सौर्य ऊर्जा उत्पादनको सम्भावना पनि छ।’

विद्युतीय सवारीसाधनको प्रयोगलाई नेपालले विशेष प्राथमिकता राखेको उल्लेख गर्दै मन्त्री भुसालले भनिन्, ‘सन् २०२५ सम्म २५ प्रतिशत निजी सवारीसाधन र २० प्रतिशत चारपांग्रो सार्वजनिक सवारीसाधन विद्युतीय हुनेछ । त्यसैगरी सन् २०३० सम्ममा त्यसलाई बढाएर ९० प्रतिशत पुर्याउने लक्ष्य लिएका छौँ।’

घरायसी खाना पकाउनका लागि पनि विद्युतीय ऊर्जाको प्रयोगलाई विशेष प्राथमिकतामा राखेको उल्लेख गर्दै भुसालले सन् २०३० सम्म २५ प्रतिशत घरपरिवारमा स्वच्छ ऊर्जाको प्रयोग गरिने लक्ष्य रहेको सुनाइन्।