काठमाण्डौ । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले नेपालको वित्तीय क्षेत्र सुरक्षित रहेको बताएका छन्। 

आज काठमाण्डौमा वर्तमान आर्थिक तथा वित्तीय अवस्थाबारे आयोजित पत्रकार सम्मेलनमा गभर्नर अधिकारीले समग्रमा वित्तीय क्षेत्र सुरक्षित रहेको बताएका हुन्। ‘सानातिना धक्काले अर्थतन्त्रमा अप्ठयारो पर्दैन’, उनले भने। 

गभर्नर अधिकारीले चालु खाता घाटा, शोधानान्तर स्थिति र विदेशी मुद्राको सञ्चितिमा सुधार हुँदै गएको बताए। ‘वास्तविक क्षेत्रमा आएको शिथिलता केही अप्ठ्यारो स्थिति सिर्जना भएको थियो’, उनले भने, ‘अर्थतन्त्र आगामी दिनमा क्रमशः सुधार हुनेछ।’

मुद्रास्फीति घट्ने क्रममा रहेको उल्लेख गर्दै गभर्नर अधिकारीले रेमिट्यान्स भित्रिने क्रम बढ्दो अवस्थामा रहेको बताए। ‘मंसिरदेखि फागुनसम्म मासिक १ खर्ब बढी रेमिट्यान्स भित्रिएको छ’, उनले भने। 

चालु खाता घाटामा उल्लेख्य सुधार आएको गभर्नर अधिकारीले बताए। ‘विदेशी विनिमय सञ्चिति सुविधाजनक अवस्थामा छ’, उनले भने। 

गभर्नर अधिकारीले बैंकहरुलाई उच्च मनोबलका साथ काम गर्न निर्देशन पनि दिए। ‘बैंकिङ प्रणालीमा तरलता सुधार हुँदै गएको छ, ब्याजदर केही माथि नै छ’, उनले भने, ‘आधार दर र निक्षेपको औसत ब्याजदर घट्ने क्रममा छ।’

पुँजी पर्याप्तता न्यूनतम अनुपातभन्दा बढी नै रहेको गभर्नर अधिकारीले बताए।