काठमाण्डौ । सुदूरपश्चिम प्रदेशको पर्यटन गतिविधिहरुको प्रवरद्धन गर्ने उद्देश्यका साथ नेपाल पर्यटन बोर्ड र धनगढी उपमहानरपालिकाको मूल आयोजना तथा नाट्टा फारवेस्टको स्थानीय संयोजनमा यही २०७८ चैत २५, २६ र २७ गते धनगढीमा फारवेस्ट ट्राभल मार्ट २०२२ आयोजना हुने भएको छ। 

नेपालका विभिन्न प्रदेशका पर्यटन व्यवसायीको व्यावसायिक गतिविधिहरुको विकास, विस्तार र अन्तर्राष्ट्रिय स्रोत–बजारका टुर अपरेटरहरुसँग व्यवसायिक सम्बन्ध स्थापित गर्न प्रत्येक प्रदेशमा ‘प्रादेशिक ट्राभल मार्ट‘ को आयोजना गर्ने नेपाल पर्यटन बोर्डको चालु आर्थिक २०७८/७९ को नीति तथा कार्यक्रमअनुरुप मार्ट आयोजना गर्न लागिएको पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेगमीले जानकारी दिए। 

फारवेस्ट ट्राभल मार्ट २०२२ मा ब्युटिफुल फारवेस्ट ः शुक्ला टु अपी साइपालको ब्राडिङ गरी सुदूरपश्चिमको पर्यटन प्रवर्द्धन गरिनेछ। यस मार्टमा नाट्टा फारवेस्टका साथै स्थानीय पर्यटन सम्बद्ध संस्थाहरुको सहभागिता रहनेछ। 

यसअघि बोर्डले नेपालगञ्ज उपमहानगरपालिका र धरान उपमहानगर पािलकासँगको समन्वयमा नेपालगन्जमा वेस्ट टुरिजम मार्ट र धरानमा इस्ट टुरिजम मार्ट सम्पन्न गरिसकेको छ।