काठमाण्डौ । गत असार तथा साउन महिनामा नेपालपे क्यूआरको प्रतिमहिना कारोबार लगभग रु. १.५ करोड पुगेको छ। विभिन्न बैंक तथा वित्तीय संस्थाहरु र भुक्तानी सेवाप्रदायकहरुमार्फत नेपालपे क्यूआरमा भुक्तानी प्राप्त गर्न विभिन्न मर्चेन्टहरुलाई इन्रोल गर्ने कार्यको पनि थालनी भइसकेको छ।

हाल विभिन्न बैंक तथा वित्तीय संस्थाको मोबाइल बैंकिङ एप, वालेटको एप तथा कनेक्ट आईपीएस मोबाइल एपमार्फत नेपालपे क्यूआर स्क्यान गरी भुक्तानी गर्न सकिने प्रावधान छ। उक्त सुविधा हाल एभरेस्ट बैंक (ईबीएल टच२४), हिमालयन बैंक (एचआर्य–एमबी), माछापुच्छ्रे बैंक (एमबीएल एम–स्मार्ट), मेगा बैंक (मेगा स्मार्ट बैंकिङ), एनआईसी एसिया (मोबैंक), सानिमा बैंक (सजिलो ई–बैंकिङ), सनराइज बैंक (स्मार्ट प्लस), कामना सेवा विकास बैंक (केएस आईमोबाइल), गुडविल फाइनान्स (गुडविल फाइनान्स स्मार्ट), आईसीएफसी फाइनान्स (आईसीएफसी फाइनान्स स्मार्ट), समृद्धि फाइनान्स (एमबैंक), सेलकक प्रालि (सेलपे) गरी ११ वटा मोबाइल बैंकिङ एप, एक वालेट तथा कनेक्ट आईपीएस मोबाइल एपमा उपलब्ध रहेको छ भने नेसनल पेमेन्ट स्विचअन्तर्गत उक्त सेवा सुचारु गर्न ५२ बैंक तथा वित्तीय संस्था र १३ भुक्तानी सेवाप्रदायकले सम्झौता पनि गरिसकेका छन्।

यसका साथै नेपालपे क्यूआरको पूर्वाधारमा विभिन्न बैंक तथा वित्तीय संस्था र भुक्तानी सेवाप्रदायकले आफ्नो विभिन्न व्यावसायिक संस्थालाई मर्चेन्टका रुपमा आबद्ध गरी क्यूआरमार्फत भुक्तानीप्राप्त गर्ने सेवाको पनि थालनी गरिसकेको छ। भौतिक रुपमा क्यूआर स्ट्यान्डी उपलब्ध गराई वा आफ्नो बिलिङ सिस्टममा डाइनामिक क्यूआर इन्टिग्रेट गरी वा ई–कमर्स पोर्टलमा क्यूआर गेटवे जोडी अथवा एन्डरोइड पीओएसमा इन्टिग्रेट गरी उक्त भुक्तानी सेवा उपलब्ध गरिएको छ। 

व्यावसायिक संस्थाहरुले क्यूआरमार्फत भुक्तानीप्राप्त गर्न एभरेस्ट बैंक, हिमालयन बैंक, कुमारी बैंक, माछापुच्छ्रे बैंक, मेगा बैंक, एनएमबि बैंक, एनआईसी एसिया बैंक, सानिमा बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, सनराइज बैंक, गरिमा विकास बैंक, कामना सेवा विकास बैंक, सेन्ट्रल फाइनान्स, गुडविल फाइनान्स, आईसीएफसी फाइनान्स, समृद्धि फाइनान्सलगायत फोकसवान सोलुसन्सलाई सम्पर्क गर्न सक्दछन् भने अन्य बैंक तथा वित्तीय संस्था र भुक्तानी सेवाप्रदायक पनि थपिने क्रममा रहेका छन्। 

नेपाल क्लियरिङ हाउसले कार्यान्वयनमा ल्याएको नेसनल पेमेन्ट स्विचअन्तर्गत नेपाल–क्यूआर स्ट्यान्डर्डअनुसारको क्यूआर अन्तरआबद्धता कायम गर्ने गरी नेपालपे क्यूआर सञ्चालनमा ल्याइएको हो। क्यूआर स्किमका रुपमा पनि उपलब्ध रहेको नेपालपे क्यूआरले मर्चेन्ट वा नेटवर्क लेभलमा अन्तरआबद्धता कायम गर्न सक्ने व्यवस्था रहेको छ। 

नेपाल सरकारको राजस्व भुक्तानीसमेत क्यूआरबाट गर्न मिल्ने गरी हाल उपलब्ध गराउँदै आएको पेमेन्ट गेटवेमा समेत नेपालपे क्यूआर थप गरिएको छ। जसअन्र्गत उक्त क्यूआर स्क्यान गरी मोबाइल बैंकिङ, वालेट, कनेक्ट आईपीएसलगायतबाट सजिलै राजस्व भुक्तानी गर्न सकिने भएको छ।