काठमाण्डौ। देशको वर्तमान जटिल अवस्थामा पनि २०७८/७९ को प्रतिस्थापन बजेटमा गरिएको व्यवस्थाले नेपालमा सवारीसाधन एसेम्बलिङ उद्योग स्थापनाका लागि कोशेढुंगा सावित हुने नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले अपेक्षा राखेको छ। 

प्रतिस्थापन बजेटको स्वागत गर्दै नाडाले यस्तो धारणा सार्वजनिक गरेको हो। नाडाले झन्डै एक दशकअघिदेखि नै आफ्ना बजेटसम्बन्धी सुझावहरुमार्फत निरन्तर रुपमा सरकारलाई नेपालमा सवारीसाधन उत्पादन गर्ने एसेम्बल उद्योग स्थापनाका लागि अन्तःशुल्क र भन्सार महसुल दुवैमा ५० प्रतिशत छुट दिन अनुरोध गर्दै आएको थियो। हाल अर्थमन्त्री जनार्दन शर्माले आफनो प्रतिस्थापन बजेटमार्फत एसेम्बल गरी नेपालमा सवारीसाधन उत्पदान गर्ने उद्योगले अनएसेम्बल अवस्थाका शीर्षक ८७.०२  ८७.०३ र ८७.११ मा पर्ने सवारीसाधन पैठारी गर्दा लाग्ने अन्तःशुल्क र त्यस्ता उद्योगले उत्पादन गरेको तयारी साधन बिक्री गर्दा लाग्ने अन्तःशुल्क महशुलमा ५० प्रतिशत छुट दिने स्पष्ट व्यवस्था गरिएकोमा नाडाले त्यसको स्वागत गरेको छ। ‘यसले ठूलै आशा र विश्वास जागेको छ’, नाडा अध्यक्ष कृष्णप्रसाद दुलालद्वारा जारी विज्ञप्तिमा जनाइएको छ। 

तर त्यस्ता सवारीसाधन उत्पादन गर्ने एसेम्बलिङ उद्योग सञ्चालन गर्नका लागि त्यससँग सम्बन्धित ऐन र नीति नियमहरुको स्थिरता पनि त्यतिकै महत्वपूर्ण हुने नाडाले जनाएको छ। ‘सरकार परिवर्तन हुँदैमा त्यस्ता उद्योगहरुलाई कुनै असर पर्न हुँदैन भन्नेमा नाडा विश्वास राख्छ’, विज्ञप्तिमा भनिएको छ। 

आजको यस्तो कोरोना महामारीको समयमा सार्वजनिक प्रयोजनका सवारीसाधनहरु प्राय प्रयोग नहुने सन्दर्भमा मोटरसाइकलजस्ता निजी सवारीसाधनले नै बिरामीलगायत आवश्यक उपभोग्य वस्तुसमेतको ओसारपसार गर्नुपर्ने अवस्थामा मोटरसाइकलको प्रयोगमा अत्यधिक वृद्धि भएको नाडाले जनाएको छ। ‘सरकारले यसलाई अझै थप प्रोत्साहन गर्नुपर्ने देखिन्छ’, विज्ञप्तिमा भनिएको छ, ‘तर वर्तमान बजेटले मोटरसाइकलको सेगमेन्टमा परिवर्तन गर्दै सडक निर्माण दस्तुर र अन्तःशुल्क महशुल दुवैमा वृद्धिसमेत गरेको छ।मोटरसाइकलको सेगमेन्टमा भइरहने परिवर्तनले मोटरसाइकल प्रयोगकर्तालाई थप आर्थिक भारमात्र पर्ने नभई अलमलमा समेत पर्ने देखिएकोले सरकारले गत बर्ष कायम गरेको सेगमेन्टलाई नै निरन्तरता दिने व्यवस्थाका लागि हामी सरकारसँग अनुरोध गर्दछौँ।’