काठमाण्डौ । वाणिज्य मन्त्री दीपक बोहोराले नेपालमा लगानी गर्ने उपयुक्त समय आएको बताएका छन् । 
 

नेपाल चेम्वर अफ कमर्सद्वारा बुधबार चेम्वर भवनमा आयोजित व्यापार तथा लगानीका सम्भावना बारे छलफल कार्यक्रममा मन्त्री बोहोराले सो कुरा बताएका हुन् । 
 

नेपाल भ्रमणमा रहेका बेलायती व्यवसायीहरु सम्मिलित सो छलफल कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बोहोराले नेपालमा नयाँ संवधान जारी भई राष्ट्र स्थायीत्वतर्फ बढेको उल्लेख गर्दै अब लगानीको संभावना बढेर गएको बताए । 
 

उनले सरकार स्वदेशी तथा विदेशी पूँजी आकर्षित गर्न लगानीमैत्री वातावरण बनाउन लागिपरेको बताउंदै नेपालमा उत्पादित बस्तुहरु भारत तथा चीन जस्ता विशाल जनसंख्या र बजारमा सहज पहँुच भएकोले जलश्रोत, उर्जा, भौतिक पूर्वाधार, पर्यटन, कृषि, शिक्षा तथा स्वास्थ्य क्षेत्रमा लगानी गरी फाईदा लिन बेलायतका उद्यमी व्यवसायीहरुलाई आग्रह गरे । 
 

चेम्वरका अध्यक्ष राजेशकाजी श्रेष्ठले मुलुकका ठूला परियोजनाहरुमा ठूलो पूँजी र प्रविधिको आवश्यकता रहेको बताउँदै नेपालको निजी क्षेत्र बेलायतको निजी क्षेत्रसंग मिलेर सहकार्य गर्न उत्सुक रहेको बताए । उनले आर्थिक कुटनीतिको माध्यमबाट दुई देशको सम्बन्धलाई थप उचाईंमा पुर्याउन सकिने बताए । 
 

नेपाल भ्रमणमा रहेका बेलायती भ्रमणटोलीका रिचार्ड पेलीले बेलायत नेपालको असल छिमेकी रहेको बताउँदै बेलायतका लगानीकर्ता नेपालमा लगानी गर्न इच्छुक रहेका प्रष्ट्याए । उनले लगानीमैत्री वातावरण निर्माणका लागि निजी क्षेत्रको समेत अहम् भूमिका रहेको बताउँदै आप्mनो टोली व्यापार तथा लगानीका क्षेत्र पहिचान गर्ने उद्देश्यले नेपाल भ्रमणमा आएको समेत बताए । 
 

ब्रिटेन नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजन कडेंलले ब्रिटेन र नेपाल बीचका व्यापार तथा लगानी क्षेत्रका साझा समस्या र लगानीका अवसर पहिचान गर्न भूमिका निर्वाह गरेको बताउँदै आर्थिक सम्वृद्धिका लागि निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहने बताए ।