काठमाण्डौ । नेपालमा ५२ देशबाट प्रत्यक्ष वैदेशिक लगानी रहेको देखिएको छ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) सम्बन्धी सर्वेक्षण प्रतिवेदन, २०७६/७७ यस्तो देखाएको छ। प्रतिवेदनअनुसार २०७७ असार मसान्तसम्ममा नेपालमा भारतबाट सबैभन्दा बढी प्रत्यक्ष वैदेशिक लगानी भएको छ। जसअनुसार भारतले ६२ अर्ब ४५ करोड रुपैयाँ लगानी गरेको छ। 

त्यसपछि चीनबाट ३० अर्ब ९७ करोड रुपैयाँ, सेन्ट किस्टस एन्ड नेभिसबाट १५ अर्ब २७ करोड रुपैयाँ, आयरल्यान्डबाट रु. १२ अर्ब ९३ करोड रुपैयाँ र सिंगापुरबाट १२ अर्ब ४३ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी रहेको देखिन्छ।

नेपालमा रहेको प्रत्यक्ष वैदेशिक लगानीमध्ये ५६.० प्रतिशत औद्योगिक क्षेत्रमा र ४३.९ प्रतिशत सेवा क्षेत्रमा रहेको देखिन्छ। औद्योगिक क्षेत्रअन्तर्गत उत्पादन क्षेत्रमा २८.३ प्रतिशत र जलविद्युत क्षेत्रमा २७.५ प्रतिशत वैदेशिक लगानी रहेको देखिन्छ। 

यसैगरी कुल प्रत्यक्ष वैदेशिक लगानीमध्ये २७.३ प्रतिशत सेवा क्षेत्रअन्र्तगत बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीमा रहेको देखिन्छ।

सर्वेक्षणबाट प्राप्त नतिजाअनुसार नेपालमा आर्थिक वर्ष २०७६/७७ को अन्त्यसम्ममा कुल प्रत्यक्ष वैदेशिक लगानीको मौज्दात ८.५ प्रतिशतले वृद्धि भई १९८ अर्ब ५२ करोड रुपैयाँ कायम रहेको छ। कुल वैदेशिक लगानीमध्ये चुक्तापुँजीको अंश ५४.४ प्रतिशत, रिजर्भ ३३.८ प्रतिशत र कर्जाको अंश ११.८ प्रतिशत रहेको छ। चुक्ता पुँजीको अंश २२.६ प्रतिशतले बढेकोले कुल प्रत्यक्ष वैदेशिक लगानीमा वृद्धि आएको हो। 

नेपालमा प्रत्यक्ष वैदेशिक लगानीमा सञ्चालित कम्पनीमध्ये कुल १९८ वटा कम्पनीको नमुना छनोट गरी सर्वेक्षणबाट प्राप्त तथ्यांकका आधारमा यो प्रतिवेदन तयार गरिएको राष्ट्र बैंकले जनाएको छ।