काठमाण्डौ। नेपालमा कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोन भित्रिएको छ। 

सोमबार आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समीर अधिकारीले नेपालमा पनि २ जनामा ओमिक्रोन संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । अधिकारीका अनुसार ६६ वर्षीय विदेशी नागरिक र उनको सम्पर्कमा आएका ७१ वर्षीय व्यक्ति ओमिक्रोन भेरिएन्टबाट संक्रमित भएको पुष्टि भएको छ। 

ती दुवैले कोरोनाविरुद्धको खोपको पूर्ण मात्रा लगाएको र पीसीआर रिपोर्ट नेगेटिभसहित नेपाल प्रवेश गरेको पाइएको पनि अधिकारीले बताए। हाल दुवैजना अस्पतालको आइसोलेसन कक्षमा रहेको र गम्भीर लक्षण नदेखिएको पनि अधिकारीले जानकारी दिए।

ती विदेशी नागरिक गत मंसिर ३ गते नयाँ भेरिएन्ट पुष्टि भएको देश हुँदै नेपालको  त्रिभुवन अन्तर्राष्ट्रिय हवाई नाका प्रयोग गरी नेपाल प्रवेश गरेका थिए। नेपाल आउँदा नियमानुसार पीसीआर रिपोर्ट नेगेटिभ तथा खोपको मात्रा पूरा गरेको पाइएको थियो। उनीसँग नजिकको सम्पर्कमा आएका एक ७१ वर्षीय व्यक्ति र स्वयं आफैँलाई मंसिर ७ गते कोभिड–१९ सँग मिल्दाजुल्दा लक्षणहरु देखिएपश्चात परीक्षण गर्दा कोभिड–१९ को नतिजा पोजिटिभ आएको थियो । परीक्षणमा पोजिटिभ आएकाहरुको एस–जिन परीक्षण गर्नुपर्ने हालको नयाँ रणनीतिअनुरुप परीक्षण गर्दा दुवै जनाको नमुनामा एस–जिन फेला परेको थिएन। एस–जिन फेला नपरेका दुवै नमुनाहरुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा जिन सिक्वेन्सिङ गर्दा गत मंसिर १९ गते नयाँ भेरिएन्ट ओमिक्रोन नेपालमा पहिलो पटक पुष्टि भएको मन्त्रालयले जनाएको छ। 

ती दुवैको सम्पर्कमा आएकाहरुको बृहत रुपमा कन्ट्याक्ट ट्रेसिङ गरिएको, कन्ट्याक्ट ट्रेसिङबाट प्राप्त ६६ जना सम्पर्कहरुको पीसीआर परीक्षण गर्दा सबैको नतिजा नेगेटिभ आएको र सबै स्वस्थ रहेको पाइएको मन्त्रालयले जनाएको छ। 

यससँगै नेपालमा ओमिक्रोनको निगरानीका लागि सर्भिलेन्स तथा कन्ट्याक्ट ट्रेसिंगको कार्यलाई थप प्रभावकारी बनाइएको मन्त्रालयले जनाएको छ। 

आम नागरिकलाई ओमिक्रोनसम्बन्धी बैज्ञानिक तथ्य प्रेषण गर्न विश्वमा भएका यससम्बन्धी अध्ययन अनुसन्धानका आधारमा प्राप्त सही सूचनाहरु आधिकारिक माध्यमबाट प्रवाह गर्ने गरिएको छ । कोभिड १९ का अरु भेरिएन्टजस्तै ओमिक्रोनको संक्रमणबाट बच्न पनि जनस्वास्थ्यका सबै मापदण्डहरुको पालना (मास्कको सही प्रयोग, भौतिक दुरी कायम गर्ने, भिडभाड नगर्ने तथा हात धुने कार्य, हावा आवतजावत राम्रो हुने स्थानमा बस्ने) र खोपको प्रयोग महत्वपूर्ण हुने भएकोले सबैमा मापदण्डको पालना गर्न र खोप अभियानमा सहभागिता हुन मन्त्रालयले अनुरोध गरेको छ।