काठमाण्डौ । छिमेकी मुलुक भारतमा पछिल्लो समय कोभिड संक्रमण बढ्न थालेको छ। त्यसलाई मध्यनजर गर्दै नेपालमा पनि सतर्कता अपनाउन सरकारले आग्रह गरेको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज एक सूचना जारी गर्दै छिमेकी मुलुकहरुमा पछिल्ला केही दिनहरु कोभिड संक्रमण बढ्दो क्रममा रहेकोले नेपालमा पनि सतर्कता अपनाउन अनुरोध गरेको हो। ‘संख्यात्मक रुपमा संक्रमण केही कम भएको जस्तो देखिए पनि महामारीको जोखिम कायमै छ’, विज्ञप्तिमा भनिएको छ, ‘त्यसैले संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी भूमिका बढाउन र संवेदनशील भई जनस्वास्थ्यको मापदण्ड पालना गर्न र गराउन हुन सम्बन्धित निकायलाई अनुरोध गरिन्छ।’

मन्त्रालयले कोभिडविरुद्धको खोप लगाउन बाँकी सबैले ढिला नगरी नजिकैको खोप केन्द्रमा गई लगाउन आग्रह गरेको छ। त्यस्तै पूर्ण मात्रा खोप लगाएकाले खोप लगाएको ३ महिना पूरा भएपश्चात बुस्टर मात्रा लगाउन पनि मन्त्रालयले अनुरोध गरेको छ।