काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सले नेपालमा लगानीका लागि अस्ट्रेलियासमक्ष आग्रह गरेको छ।

नेपालका लागि अस्ट्रेलियन राजदूत फेलिसिटी वोल्कसँग काठमाण्डौको जमलस्थित चेम्बर भवनमा आज भएको भेटवार्तामा चेम्बरका पदाधिकारीले जलविद्युत, वन, पर्यटन, कृषि एवं साना उद्योगमा लगानी गर्न आग्रह गरेका हुन्।  नेपाल र अस्ट्रेलियाबीच ६० वर्षभन्दा पुरानो कूटनीतिक सम्बन्धलाई थप बलियो बनाउन सरकारी र निजी क्षेत्रबाट उच्चस्तरीय आर्थिक साझेदारीको आवश्यकता रहेको अध्यक्ष राजेन्द्र मल्लले बताए। 

अस्ट्रेलियाले नेपालको बन क्षेत्रको संरक्षण तथा सम्वर्द्धन गर्न लामो समयदेखि आर्थिक एवं प्राविधिक सहयोग गरेको भन्दै अध्यक्ष मल्लले यसको निरन्तरतामा जोड दिए। उनले जडीबुटी एवं खानी जन्य तथा धातुहरुको प्रशोधन गर्ने उद्योगमा लगानी गरी अन्तर्राष्ट्रिय बजार प्रवर्द्धन गर्नसमेत राजदूत वोल्कसँग आग्रह गरे। 

‘समृद्ध मुलुक अस्ट्रेलियाले थुप्रै देशमा लगानी गरिरहेको छ। तर, नेपालमा लगानी निकै नगण्य मात्रामा छ। भारत तथा बंगलादेशको विद्युत बजारलाई मध्यनजर गर्दै अपार सम्भावना भएको नेपालको जलविद्युतमा लगानी गर्नका लागि आग्रह गर्दछु’, मल्लले भने। अस्ट्रेलियाका ठूला लगानीकर्तालाई नेपालको जलविद्युतमा लगानीका लागि उनले आग्रह गरे। 

वैदेशिक लगानीका लागि नेपालले नीतिगत क्षेत्रमा थुप्रै सुधार गरिसकेकाले ढुक्क भएर लगानी गर्न अध्यक्ष मल्लले राजदूत वल्कसमक्ष आग्रह गरे। ‘अस्ट्रेलियाको लगानी सुनिश्चित गर्न निजी क्षेत्रका तर्फबाट नेपाल चेम्बर अफ कमर्सले पहल गर्नेछ’, उनले भने।

नेपालका विद्यार्थी अस्ट्रेलियामा अध्ययनका लागि गइरहेको सन्दर्भमा अध्यक्ष मल्लले त्यहाँका विख्यात शैक्षिक संस्थाहरुबाट नेपाली शैक्षिक संस्थाहरुलाई सम्वन्धन दिई शिक्षाको गुणस्तर सुधारमा सहयोग गर्न समेत राजदूत वल्कसमक्ष आग्रह गरे। उनले नेपाल र अस्ट्रेलियाबीच सीधा हवाई सेवा विस्तार गरेर दुवै देशले फाइदा लिन सक्नेमा जोड दिए। यसले नेपालको पर्यटन प्रर्वद्धनमा समेत महत्वपुर्ण भूमिका खेल्नेमा अध्यक्ष मल्लले विश्वास व्यक्त गरे। सूचना प्रविधिको क्षेत्रमा लगानीका लागि अस्ट्रेलियाको निजी क्षेत्रमा पहल गरिदिनसमेत राजदूत वल्कलाई मल्लले प्रस्ताव गरे। 

जवाफमा राजदूत वल्कले नेपाल अस्ट्रेलियाको कूटनीतिक सम्बन्ध ६० वर्षभन्दा पुरानो र ऐतिहासिक भएको बताइन्। नेपालसँगको ऐतिहासिक सम्बन्धलाई अस्ट्रेलियाले सधैँ गर्व गर्ने उनको भनाइ छ। 

नेपालबाट वार्षिक ५० हजार विद्यार्थी अध्ययनका लागि अस्ट्रेलिया जाने गरेको भन्दै वल्कले उनीहरुको शैक्षिक सुधार तथा भविष्यका लागि आफ्नो सरकारले उच्च प्राथमिकतामा राखेको बताइन्। ‘नेपालबाट वार्षिक ५० हजार विद्याथीलाई अस्ट्रेलियाले अध्ययन भिसा उपलब्ध गराउँदै आएको छ। अस्ट्रेलिया अध्ययन गर्न आउने नेपाली विद्यार्थीको संख्या विश्वमा चीन, भारतपछि नेपाल तेस्रो स्थानमा छ। हामी अझै यसको सुधारको पक्षमा छौँ’, उनले भनिन्। 

नेपालमा लगानीका लागि नीतिगत समस्या हुँदा पनि अस्ट्रेलियाबाट अपेक्षित लगानी आउन नसकेको राजदूत वल्कको भनाइ छ।