काठमाण्डौ । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडका अध्यक्ष पृथ्वीबहादुर पाँडेले नेपालमा ३–४ वर्षमै बैंकको संख्या घटेर ६–७ वटामा झर्ने प्रक्षेपण गरेका छन्। 

मेगा बैंक र नेपाल इन्भेष्टमेण्टले मर्जर प्रक्रिया पूरा गरी आज एकीकृत कारोबारको शुभारम्भ गरेको समारोहमा अध्यक्ष पाँडेले यस्तो प्रक्षेपण गरेका हुन्। ‘अहिले मर्जरको फर्स्ट स्टेज हो, फेरि सेकेन्ड स्टेज आउँछ’, उनले भने, ‘त्यसपछि बैंकको संख्या घटेर ६–७ वटामात्र हुनेछ।’

मुलुकको जीडीपीको आकारको तुलनामा नेपालमा बैंकको संख्या धेरै रहेको पाँडेको भनाइ थियो। । ‘अरु देशको तुलनामा नेपालमा धेरै बैंक छन्, श्रीलंका, मलेसियामा उनीहरुको जीडीपीको तुलनामा थोरै बैंक छन्’, पाँडेले भने, ‘त्यसैले नेपालमा बैंक संख्या अझै घटाउनुपर्छ।’

बैंक ठूलो भयो भने निक्षेप अझै सुरक्षित हुने पाँडेले बताए। ‘टु बिग टु फेल भन्ने कुरा म मान्दिनँ’, उनले भने।