काठमाण्डौ । नेपालमा कमाएर विदेशमा लगानी गर्नेहरुप्रति सरकार कठोर बन्नसक्ने प्रधानमन्त्रीले संकेत गरेका छन् । 

नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले यस्तो संकेत गरेका हुन् ।

नेपालमा पैसा कमाएर विदेशमा लगानी गर्ने तरिकालाई ‘उल्टो बाटो’को संज्ञा दिंदै यस्तो काम नगर्न उद्यमी व्यवसायीलाई उनले सम्झाए । 

'हामीले विदेशी पूँजी पनि आमन्त्रण गरिरहेका छौं, त्यसका लागि अनेकन सहुलियत र सुविधा घोषणा गरिरहेका छौं ।' ओलीले थपे-'हाम्रै उद्यमी व्यवसायीले चाहिँ यहाँको पूँजी बाहिर लगेर लगानी गर्ने बाटो लिनु उचित होइन, हामीले देशप्रति माया गर्न सिक्नुपर्छ ।' 

उनले नेपालमा लगानीका अवसर सिद्धिएका छैनन्, हामीमा त झनै अवसर छन् भन्दै अगाडि थपे-'थोरै नाफाको लोभमा देशलाई नबिर्सियौं । हाम्रोमा श्रमबजार सस्तो छ, बढी मुनाफा यही हुन्छ । तर, हामी के के प्रयोजनका लागि बाहिरतिर लगानीको बाटो खोज्छौ भने त्यो सुल्टो बाटो होइन ।' 

उनले स्वदेशमै लगानीका लागि उद्यमी व्यवसायीलाई आवश्यक पर्ने सुविधा, सहुलियत, छुट कानून बमोजिम  वा कानून बदलेरै भए पनि उपलब्ध गराउने वचन दिंदै स्वदेशमा कमाएको पैसा विदेश नलैजान र यहीँ लगानी गर्न आग्रह गरे । 'यहीँ रोजगारी सिर्जना गरौं, यहीँ उत्पादन वृद्धि अनि निर्यात गरौं । हाम्रा छिमेकमा ठूला ठूला बजार छन् । हामी निर्यात गर्नसक्छौं ।' उनले थपे-'हाम्रो देशमा थुप्रै डिपार्टमेन्टल स्टोरहरु छन्, तर, त्यहाँ राखिएका सामान सबै विदेशी छन् । त्यसकारण अब हामी आफैंले उत्पादन गरौं, उपभोग गरौं र निर्यात पनि थालौं ।' 

सरकारले राष्ट्रिय पूँजी र राष्ट्रिय उद्योगलाई जोड दिने उल्लेख गर्दै नेपालका उद्यमी व्यवसायीले आफ्नो लगानीको क्षमता बढाउनुपर्ने, जसका कारण देशले बाहिरी लगानी ल्याउनै नपर्ने अवस्था सिर्जना हुने पनि उनले बताए । 'हाम्रा पूँजीपतिहरुलाई लगानी गर्नसक्ने हैसियतमा उठाउन सकेनौं, त्यसकारण मात्र बाहिरका लगानीकर्ता खोजेका हौं । यहीकारण आज खोजी खोजी वैदेशिक लगानी आमन्त्रण गरिहेका छौ ।' उनले भने-'हाम्रा उद्यमीलाई त्यस स्तरमा विकास गर्न सकेनौं, त्यसकारण तपाईहरु विकास हुनुहोस्, ठूला आयोजनामा लगानी गर्नसक्ने गरी अगाडि आउनुहोस् ।'