काठमाण्डौ । एनएमबि बैंकद्वारा नेपालमै पहिलोपटक ऊर्जा ऋणपत्र जारी गरेकोमा ४ दिनमै मागभन्दा अत्याधिक आवेदन परेको छ।

उक्त ऊर्जा ऋणपत्र जेठ ९ गते आइतबारदेखि बिक्री खुला गरिएकोमा पहिलो ४ कार्यदिनभित्रै अत्याधिक आवेदनका कारणले बिक्री बन्द गरिएको हो। एनएमबि बैंकले वार्षिक ४ प्रतिशत ब्याजदरमा १ अर्ब ५० करोड बराबरको १५ वर्षे अवधिको उक्त ऋणपत्र विक्री खुला गरेको थियोे। यस ऋणपत्रबाट प्राप्त कोषलाई जलविद्युत र अन्य नवीकरणीय ऊर्जा आयोजनाहरूमा लगानीका लागि उपयोग गरिने बैंकले जनाएको छ। 

हालसम्म बैंकले ऊर्जा क्षेत्रमा ४३ जलविद्युत परियोजनाहरुलगायत नवीकरणीय ऊर्जाको क्षेत्रमा कुल कर्जा सापटको १६% भन्दा बढी रकमको प्रतिबद्घता गरिसकेको छ। 

ऊर्जा ऋणपत्र आह्वान गर्नुको मूलभूत उद्देश्य वास्तविक अर्थव्यवस्थाको समग्र विकासका लागि दिगो टेवा पुर्याउने प्रतिबद्घताअनुरुप उत्तरदायी भूमिका निर्वाह गर्दै बैंकिङ सेवा प्रदान गर्नु रहेको पनि बैंकले जनाएको छ। 

हालको विषम परिस्थिति र यस महामारीको प्रभावका बाबजुद पनि विश्वास गरेर एनएमबि ऊर्जा ऋणपत्र खरिद गरी सहयोग र सद्भाव प्रदान गर्ने सम्पूर्ण शुभेच्छुक, लगानीकर्ता आवेदक, आस्बा सदस्य बैंक तथा वित्तीय संस्था, नियमनकारी निकाय तथा सरोकारवाला सबैप्रति  बैंकले हार्दिक कृतज्ञता व्यक्त गरेको छ।

बैंकले देशभरिका १८१ शाखा, १३७ एटीएम र ९ एक्सटेन्सन काउन्टरमार्फत ग्राहकलाई बैंकिङसेवा प्रदान गर्दै आइरहेको छ।