काठमाण्डौ। डिजिटल बैंकिङ क्षेत्रमा नयाँ आयामहरु थप गर्दै आएको माछापुच्छ्रे बैंक लिमिटेडले आफ्नो मोबाइल बैंकिङ एप एमबीएल एम–स्मार्टलाई अझ बढी सुरक्षित र भरपर्दो बनाउने उद्देश्यका साथ नयाँ प्रविधि थप गरेको छ। 

बैंकले पछिल्लो समय मोबाइल बैंकिङ एपमार्फत देखिएका विभिन्न शंकास्पद गतिविधिहरु र अनाधिकृत कारोबारहरु कम गर्न र ग्राहकलाई सुरक्षित राख्न आफ्नो मोबाइल बैंकिङ एप एमबीएल एम–स्मार्र्टमा नेपालमै पहिलोपटक उच्च सुरक्षा सतर्कताका साथ एसएमएस प्रमाणीकरण प्रविधि थप गरेको हो।  

मोबाइल बैंकिङमा हाल ओटीपी सेयरमार्फत सबैभन्दा धेरै अनाधिकृत कारोबारहरु भइरहेको पाइएको छ। विभिन्न लक्की ड्र, ठूलो रकमको चिठ्ठा परेकोलगायतका प्रलोभन देखाएर आफ्नो मोबाइलमा प्राप्त हुने ओटीपी सेयर गर्न लगाई ह्याक्रहरुले ठूलो मात्रामा अनाधिकृत कारोबारहरु गरिरहेको पाइएको अहिलेको समयमा उक्त समस्यालाई रोक्नका लागि आफ्नो एपमा नयाँ प्रविधिको सुरुआत गरेको हो। 

बैंकले यस प्रविधिको सुरुआत गरेसँगै ग्राहकबाट ओटीपी प्राप्त गरी मोबाइल बैंकिङमा पहुँच प्राप्त गर्ने सम्भावना बन्द भएको छ। बैंकले यो सेवा थप गरेसँगै बैंकका ग्राहकको मोबाइल बैंकिङ सेवा थप सुरक्षित र भरपर्दो बन्न पुगेको छ। 

स्मार्ट बैंकका रुपमा बैंकले आफ्ना ग्राहकलाई सहज र सुरक्षित डिजिटल भुक्तानीका माध्यमहरु प्रदान गर्दै आएको र विभिन्न बैंकिङ सुविधा प्राप्त गर्न बैंकको कार्यालयसम्म पुग्नै नपर्ने गरी सेवा प्रदान गरिरहेको छ।